अन्तर्राष्ट्रिय

मालीमा एक जना शान्ति सैनिकको मृत्यु, चार जना घाइते

बामाको । अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सेना चढेको सवारी साधनलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ बिस्फोटबाट एक जना शान्ति सैनिकको मृत्यु भएको छ भने अरु चार सैनिक घाइते भएका छन् ।

राष्ट्रसङ्घको माली मिसनद्वारा जारी वक्तव्यमा मारिएका शान्ति सैनिक इजिप्टका रहेको उल्लेख छ । शान्ति सैनिकहरु चढेका सवारी साधनहरु बोनीबाट डुएन्जातर्फ जाँदै थिए । राष्ट्रउसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शान्ति सैनिकको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शान्ति सैनिकमाथिको आक्रमणलाई युद्ध अपराधका रुपमा लिइने र यसलाई अन्तर्राष्ट्रिय कानुन बमोजिम कारबाही गरिने बताएका छन् ।

उत्तरी मालीमा सन् २०१२ मा अतिवादी लडाकू समूहले नियन्त्रण कायम गरेपछि राष्ट्रसङ्घीय सुरक्षा परिषदको निर्णयबमोजिम सन् २०१३ मा शान्ति सैनिक तैनाथ गरिएको छ । सन् २०१५ मा राष्ट्रसङ्घको अगुवाईमा सरकार र विभिन्न सशस्त्र समूहबीच शान्ति सम्झौता भए पनि मालीको मध्य र उत्तरी क्षेत्रमा स्थायित्व ल्याउन सकिएको छैन ।

माली शान्ति मिसनका क्रममा हालसम्म १९० जना शान्ति सैनिकको मृत्यु भइसकेको छ ।