बाग्मती

महायज्ञमा रु ३० लाख र सात क्वीन्टल धातु सङ्कलन

काठमाडौँ । चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा शनिबारसम्म रु ३० लाख नगद र करीब सात क्वीन्टल धातु सङ्कलन भएको छ ।

यही वैशाख १ गतेबाट शुरु भएको धार्मिक कार्यक्रममा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आर्थिक तथा धातु सङ्कलनसहित तीन करोड बेलपत्र चढाउने र एक करोड बत्ती प्रज्वलन गर्ने कार्यक्रमसमेत छ । वैशाख ११ गतेसम्म चल्ने महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको र विभिन्न क्षेत्रका दाताबाट सहयोगको प्रतिबद्धता आइरहेको महायज्ञका सहसंयोजक ऋषिश्वर थपलियाले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म १३ जना संस्थापक भइसकेको तथा दुई जना संस्थापक र संरक्षक बनिसकेको तथा अन्य व्यक्तिहरुबाट पनि धातु र आर्थिक सहयोग जारी रहेको छ । रु एक लाख सहयोग गर्ने संस्थापक र रु पाँच लाख सहयोग गर्ने व्यक्ति संस्थापक संरक्षण बन्ने छन् । उनले अष्ट्रेलिया, अमेरिका, पोर्तुगल, फ्रान्स, बेलायत र जापानमा बस्ने नेपालीले समेत सहयोग गर्ने आश्वासन दिएको जानकारी दिए ।

चितवन, तनहुँ र देवघाटको सङ्गम देवघाटमा सुन्दर पार्कसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गर्न आर्थिक तथा धातु सङ्कलनको उद्देश्यले महायज्ञ गरिएको हो । देवघाटमा शिवको मूर्तिसहित जमीनमुनी पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्राम गृह, पार्क निर्माण गर्ने योजना छ । पर्यटन व्यवसायी केशव पाण्डेले नेतृत्वमा मूल आयोजक समिति निर्माण गरी यहाँ महायज्ञ सञ्चालन गरिएको छ । सङ्कल्पकर्ता पण्डित ईश्वरकृष्ण महाराजबाट कथा वाचन भइरहेको छ ।