खेलकुद

राष्ट्रिय ब्याडमिन्टन: दीपेश र रशिलालाई स्वर्ण

घोराही । डिफेन्डिङ च्याम्पियन नपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तमाङ र नङ्शलदेवी तामाङलाई उछिन्दै सशस्त्र प्रहरीको एपिएफ क्लबका दीपेश धामी र आर्मीकी रशिला महर्जन ब्याडमिन्टनमा नयाँ च्याम्पियन बनेका छन् ।

आठौँं राष्ट्रिय खेलकूदअन्तर्गत ४०औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको शनिबार दाङको घोराहीस्थित कभर्डहलमा सम्पन्न पुरुष एकलको फाइनल खेलमा दीपेशले रत्नजितलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गर्दै इतिहास रचेका हुन् । चार राष्ट्रिय प्रतियोगितामा लगातार स्वर्ण जितेका रत्नजित एपिएफका दीपेशसँगै सहजै पराजित भएका हुन् ।

यस्तै ब्याडमिन्टनको महिला एकलमा आर्मी क्लबकी रशिलाले नङ्शललाई १९–२१, २१–१४ र २४–२२ अङ्कले पराजित गर्दै च्याम्पियन बनिन् । चौध वर्षीया रशिलाले हालै सम्पन्न कृष्णमोहन स्मृति राष्ट्रिय ब्याडमिन्टनमा उपाधि जितेकी थिइन् । राष्ट्रिय च्याम्पियन बन्ने उनी अहिलेसम्मकै कान्छि खेलाडी भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।

यसैगरी पुरुष डबल्सतर्फ आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले एपिएफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई २१–१८ र २१–१२ अङ्कले हरायो । महिला डबल्सतर्फ एपिएफकी पूजा श्रेष्ठ र जेशिका गुरुङको जोडीले आर्मीकी नङ्शलदेवी ताामाङ र अनुमाया राईको जोडीलाई २१–१५, ११–२१ र २१–१७ अङ्कले हराउँदै उपाधि जिते । मिश्रित युगलतर्फ एपिएफकी पूजा श्रेष्ठ र दीपेश धामीको जोडीले जेशिका गुरुङ र गौतमसिंह कठायतको जोडीलाई २१–१० र २१–१७ अङ्कले हराउँदै उपाधि जित्यो ।