प्रदेश 1

नेविसङ्घद्वारा दुई लाखको अक्षय कोेष स्थापना

ओखलढुङ्गा । नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले रु दुई लाख बराबरको अक्षय कोेष स्थापना गरेको छ ।

नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेविसङ्घ स्थापना दिवसको अवसर पारेर एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षय कोेष स्थापना गरिएको हो । विद्यार्थीलाई अक्षय कोषको रकमबाट पुरस्कृत गरेर उच्च शिक्षाका लागि सहयोग गर्ने कार्ययोजनासहित अक्षय कोेष स्थापना गरेको नेविसङ्घ अध्यक्ष गोविन्द कोइरालाले बताए ।

जिल्लाबाट एसईईमा सहभागीमध्ये उत्कृष्ट महिला एक , पुरुष एक, जनजाति एक, दलित एक र जेहेन्दार एक गरी पाँच जनालाई पुरस्कृत गरिने उनको भनाइ छ । रु दुई लाखबाट शुरु गरिएको कोषमा रकम बढाउन प्रयत्न गरिने र उक्त कोषबाट सहयोग गर्दै विद्यार्थीको हितमा अन्य कार्यक्रम ल्याउने योजना रहेको नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले जनाएको छ ।

नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले रामपुरमा आयोजना गरेको कार्यक्रमलाई काङ्ग्रेस नेताहरु बालकृष्ण दाहाल, टेकराज भट्टराई, कुमार लुइँटेल, रमेश तामाङ, दिलकुमारी खतिवडा, हेमकुमारी तामाङसहितका नेताले सम्बोधन गर्नुभएको थियो । नेताहरुले नेविसङ्घलाई एक ढिक्का बनाएर अघि बढ्ने बताए ।

ओखलढुङ्गामा पछिल्लो समय काङ्ग्रेसका नेताको गुटगत राजनीतिले नेविसङ्घ दुई धुव्रमा देखिएको छ । संस्थापन शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताले आफू निटकका विद्यार्थीलाई समेटेर अधिवेशनकै समयदेखि २ वटा समिति बनाएका थिए ।