राजनीति

बालुवाटार जग्गा घोटाला काङ्ग्रेसका लागि ओली सरकार बिरुद्धको पहिलो एजेण्डा हुन्छः बरिष्ठ नेता पौडेल

खस्यौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसका लागि भ्रष्टाचारको विषय पहिलो एजेण्डा हुने बताए । बुटवलमा नेपाली काङ्ग्रेस, रुपन्देही क्षेत्र नं ४ द्वारा आज आयोजित क्षेत्रीय सम्मेलनमा नेता पौडेलले भ्रष्टाचारको विषयमा कुनै सम्झौता हुँदैन भने ।

नेता पौडेलले मुलुकमा संस्थागत भ्रष्टाचार बढेको उल्लेख गर्दै बालुवाटारको जग्गा प्रकरणमा संलग्न भएकालाई संसद्मा ठर्याउनुपर्ने विचार व्यक्त गरे । नेता पौडेलले वर्तमान सरकार कुहिरोको काग भएको टिप्पणी गर्दै अरुको आलोचना गर्ने सरकारले आत्म समीक्षा गर्न सक्दैन भने ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार विरुद्ध आन्दोलन आवश्यक भएको बताए ।

नेपाली काङ्ग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रधानमन्त्री ओली नियन्त्रण शासन प्रणालीको पक्षमा भएको र सभामुख कृष्णबहादुर महरा सत्ताको लाचार छाँया जस्तो देखिएको आरोप लगाए । नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सरकारबाटै संविधानलाई खतरा भएको टिप्पणी गरे ।