प्रदेश 1

एक वर्ष त्यतिकै वित्यो, अब विकास द्रुत गतिमा –मुख्यमन्त्री राई

भोजपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको युग शुरु भएको बताए । सङ्घीयता लागू भएर तीन तहको सरकार बनेसँगै देश समृद्धिको बाटोमा लम्किएको उनले बताए ।
सदरमुकामलाई टक्सार विमानस्थलसम्म जोड्ने सडकको शिलान्यास गर्दै मुख्यमन्त्री राईले एक वर्ष नीति निर्माण तथा संरचना तयार गर्दैमा बितेको र यस वर्षदेखि देशमा विकासको युग शुरु भएको बताए । उनले भने , ‘‘संविधानप्रति असन्तुष्टि जनाउनेहरू, छुट्टै मधेश राज्यको माग गर्नेहरू आज सहमतिको बाटोमा आइसकेकाले अब देश समृद्धिको बाटोमा लम्किएको छ । तपाईहरुले विकास हुँदैन कि भनेर शङ्का मान्नु पर्दैन ।’’

समृद्ध र नमूना प्रदेश बनाउन दीर्घकालीन कार्ययोजना बनिरहेको र त्यसलाई छिट्टै सार्वजनिक गर्ने उनको भनाइ थियो । उनले आगामी वर्षको बजेटबाट सङ्घीय सरकारले वृद्ध तथा अशक्त नागरिकको भत्तामा वृद्धि गर्ने बताए । स्वास्थ्य, शिक्षा, यातयात तथा पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण तथा टेम्केडाँडामा भ्यू टावर निर्माणको चाँडै शिलान्यास गरिने उनले बताए ।