समाचार

देशभर बाटो, पुल, पानीजहाज लगायत सबै क्षेत्रको विकास धमाधम हुँदैछ –प्रधानमन्त्री

नवलपरासी । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धि र विकास तर्फ अघि बढिरहेको बताएका छन् । पूर्वी नवलपरासीको सदरमुकाम नमूना सदरमुकामको कावासोती नगरपालिका–३ मा आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देशमा बाटो घाटो, पुल पुलेसा, शिक्षा स्वास्थ्य लगायतका अन्य सबै क्षेत्रको समेत विकास हुँदै गएको बताए । जलविद्युतदेखि पानी जहान सञ्चालनसम्मको योजनाअघि बढाउन सरकार लागि परेको जनाउँदै उनले अब मुलुकले समृद्धि र विकासको गति लिएको बताए । हुलाकी राजमार्गदेखि अन्य विकास निर्माणका काम साथै कृषि, पर्यटन लगायतका अन्य विविध क्षेत्रमा समेत सरकारले लक्ष्यअनुसार काम अघि बढिरहेको उनले चर्चा गरे ।

कोरला नाकाको विकासका लागि सरकार लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले समग्र देशको चौतर्फी विकासका लागि आफू अगाडि बढेको उल्लेख गरे । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घ र प्रदेशअन्तर्गतका कार्यालय एकीकृत रुपमा स्थापना गर्ने योजनालाई रकम अभावका कारणले कुनै समस्या हुन नदिने प्रतिबद्धता गरे । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्रिवेणी पोखरा हुँदै कोरला नाकाको सडक सञ्जाल विस्तारमा सङ्घीय सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो जिम्मेवारीमा नखटिने कर्मचारी सरकारलाई आवश्यक नभएको बताउँदै सबै कर्मचारीले आआफ्नो जिम्मेवारीअनुुसार काम गर्नुपर्छ भने । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अब राज्यले आयोगमार्फत वास्तविक सुकुम्वासी र अव्यवस्थित बसोबासलाई पूर्ण रुपमा व्यवस्थापन गर्ने योजनाका साथ सरकारले कामअघि बढाएको बताए ।

प्रतिनिधिसभा सदस्य तीलक महतले नवलपुर जिल्लालाई साच्चिकै समृद्ध जिल्लाको रुपमा स्थापना गर्न त्रिवेणी नाकाको स्तरोन्नति, पहाडी क्षेत्रमा फलाम खानीको उत्पादन र सडक सञ्जाल विस्तार हुनपर्ने धारणा राखे । गण्डकी प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नामकरण गरिएको जिल्लालाई तत्काल नवलपुर जिल्ला नामकरण हुनुपर्ने र सङ्घीय सरकारले प्रदेश सरकारलाई थप बलियो बनाउनुपर्ने बताए ।

कावासोती–३ मा रहेको १७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा जिल्ला सदरमुकाममा रहने सङ्घ र प्रदेशअन्तर्गतका कार्यालय एकीकृत रुपमा स्थापना गर्ने योजनाअनुसार प्रधानमन्त्री ओलीले आज शिलान्यास गरेका हुँन ।