समाचार

इन्टरनेशनल करातेका लागि मिसन गोजुरियो भारत प्रस्थान

काठमाडौँ । भारतमा हुने इन्टरनेशनल कराते एण्ड किक बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै जापान गोजुरियो कराते डो मिसन सङ्घको राष्ट्रिय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । पटनाको पाटलीपुत्र स्पोट्र्स कम्पेलेक्समा यही वैशाख ९ र १० गते हुने प्रतियोगितामा सहभागी हुन उक्त सङ्घका प्रमुख प्रशिक्षक केबि राना ‘काजी’ को नेतृत्वमा ३५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोलीलाई बेलहियामा नेपाल भारतमैत्री समाजका अध्यक्ष शान्तकुमार शर्माले राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरेका थिए । उक्त प्रतियोगितामा नेपालसहित आठ देशले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा नेपालले विभिन्न उमेर समूह र तौल समूहमा सहभागिता जनाउने प्रमुख प्रशिक्षक रानाले जानकारी दिए । उनले खेलाडीले कडा मेहनत गरिरहेकाले प्रतियोगिताका सबै प्रतिस्पर्धामा नेपालले जित हासिल गर्ने अपेक्षा गरे ।

खेलाडीसँगै नेपालका तर्फबाट कराते महासङ्घका प्रदेश ५ अध्यक्ष भरतबहादुर केसी, जापान गोजु रियो कराते डो मिसन सङ्घका केन्द्रीय सचिव गिरी पुन, महासङ्घका रुपन्देही जिल्ला अध्यक्ष उमेश थापामगर र चिकित्सक डा विकास आले, खेलाडी र पत्रकारको टोली भारत गएको हो । उक्त टोलीमा रुपन्देही, कास्की, बाँके, सुर्खेत र बागलुङका खेलाडी सहभागी छन् ।

कराते महासङ्घका प्रदेश ५ अध्यक्ष केसीले नेपालका खेलाडीले विगतमा जस्तै स्वर्ण पदक जितेर नेपालको नाम विश्वसामु चिनाउन सफल हुने आशा गरे । यसअघि सन् २०१७ मा भारतको पुनामा भएको साउथ एशियन च्याम्पियनसिपमा नेपालले १४ स्वर्ण पदक जितेको थियो ।