अन्तर्राष्ट्रिय

काबुलस्थित एक मन्त्रालयमा विष्फोट

काबुलस्थित । तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच भएको वार्ता विफल भएको एक दिनपछि अफगानिस्तानको राजधानी काबुलमा रहेको सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले शनिबार आक्रमण गरेको अफगान अधिकारीहरूले बताएका छन् । शनिवार बिहान त्यहाँ विस्फोटन भएको र गोली चलेको आवाज सुनिएको थियो । सो आक्रमण राष्ट्रपति निवास र केही प्रसिद्ध होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै रहेको मन्त्रालय परिसरको पर्खालमा भएको एक जना प्रत्यक्षदर्शीले बताएका छन् ।

मन्त्रालय स्रोतका अनुसार सशस्त्र व्यक्तिहरूमध्ये एक जना मन्त्रालयको भवनमा पस्न सफल भएको, अर्को एक व्यक्तिले मन्त्रालयको परिसरको पर्खालमा विस्फोट गराएको र तेस्रो व्यक्तिलाई प्रहरीको गोली लागेको थियो । मन्त्रालययका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११ बजेर ४० मिनेटमा विस्फोटन भएको थियो ।

विष्फोट भएको क्षेत्रमा सरकारी कार्यालयका साथै केही ठूला होटलहरू पनि रहेको र विदेशीहरूको आवतजावत हुने स्थान पनि हो । स्थानीय टीभीहरूले देखाएको दृश्यमा एउटा सानो धुवाँको मुस्लो निस्केको र तल्लो तहको झ्यालबाट मानिसहरू बाहिर निस्कन लागेको देखिन्छ । सयौँ सर्वसाधारणलाई उक्त भवनबाट उद्धार गरिएको मन्त्रालयले बताएको छ । त्यस क्षेत्रलाई अहिले सुरक्षाकर्मीले घेरेर राखेका छन् ।

सशस्त्र विद्रोहीका प्रतिनिधिहरू र दुई सय ५० अफगान राजनीतिज्ञहरूबीच शनिवार र आइतवार कतारको राजधानी दोहामा एउटा शान्ति सम्मेलन हुने तय भएको बताइए पनि तालिबानले अफगान प्रतिनिधिमण्डलको आकार र उनीहरूको हैसियतबारे प्रश्न उठाउँदै बिहीवार अचानक उक्त सम्मेलन सहभागी नहुने घोषणा गरेको थियो । शनिबार जारी गरेको एउटा वक्तव्यमा तालिबानले अफगान सरकारले ‘उक्त सम्मेलन र शान्ति प्रक्रियालाई भङ्ग गरेको’ आरोप लगाएको छ ।