बाग्मती

मुहान क्षेत्रको वाग्मती किनारबाट फोहरका ट्रक हटाउन माग

काठमाडौँ । वाग्मती सफाइ महाअभियानले ३१० हप्ता नाघ्यो । मुहान क्षेत्रका दुई नगरपालिकाले अझै नदी किनारमै वर्गीकरणका नाममा फोहर थुपार्ने गरेका छन् । गुह्येश्वरीमाथिको नदी सफाइको २७१औँ हप्तामा गोठाटार पुलमुनिको नदी क्षेत्रस्थित गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाबीचको नदी किनार सफाइका क्रममा दुवै नगरपालिकाले फोहरका ट्रक राखेको भेटिएको वाग्मती सुन्दरता सरोरकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।

नदी किनारमा फोहरको वर्गीकरण गर्दै स्थानीयवासीको जनस्वास्थ्यमा धावा बोल्ने काम भइरहेकाप्रति सफाइ अभियानकर्मीले दुवै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १०० मिटरको क्षेत्रभित्र खुल्ला स्थानमा फोहर वर्गीकरण गरिँदा धेरै मानिसको स्वास्थ्यमा गम्भीर असर पुगेको छ ।

विमानस्थल नजिकै यसो गरिँदा अन्तर्राष्ट्रिय जगत्मा नेपालप्रति नकारात्मक सन्देश जाने अभियानकर्मीको भनाइ छ । पटक÷पटक अनुरोध गर्दा पनि फोहरका गाडी नदी किनारबाट नहटाइएकातर्फ स्थानीयवासीले नगरपालिकाप्रति आक्रोश पोखे ।

सफाइका क्रममा आज उपत्यकाको सभ्यताको स्रोत वाग्मती किनारमा फोहर राखेर वर्गीकरण गर्ने काम बन्द गर्न दुवै नगरपालिकालाई सार्वजनिक आह्वान गरियो । जन आह्वानको बेवास्ता गरेमा सम्बन्धित नगरपालिकाको प्राङ्गणमा लगेर फोहर विसर्जन गर्नेसम्मका अभियान चलाउन स्थानीयवासी बाध्य हुने चेतावनी दिइएको छ ।

मञ्चको आयोजनामा भएको सफाइ अभियानका क्रममा फोहरलाई स्रोतमै वर्गीकरण गर्दै नकुहिने फोहरलाई बाहिर निकालिएको थियो । मञ्चका तर्फबाट उमा फुयाँलले सफाइको संयोजन गरेका थिए । अभियानमा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो । मञ्चले सञ्चालन गर्दै आएको नियमित वाग्मती तथा टोल, सडक र गल्ली सफाइ अभियानमा आफ्नै घरको फोहर व्यवस्थापन गर्न उदासीन जो कोहीलाई सहभागिता नजनाउन अनुरोध गरिएको जनाइएको छ ।
उपत्यकाबाट २६ मेट्रिक टन फोहर व्यवस्थापन
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

वाग्मती सफाइ वाग्मती सफाइ महाअभियानको ३१०औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १९ संस्थाको सक्रियता थियो । सफाइमा ४०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए ।

यसैगरी गुह्येश्वरी माथिको वाग्मती सफाइको २७१ हप्ताको कार्यक्रमबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । रुद्रमती सफाइ अभियानको २६५औँ हप्तामा रातोपुल–सिफल–कालोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिए ।

विष्णुमती सफाइको २३७औँ हप्तामा तारकेश्वर र टोखा नगरपालिका बीचको नयाँ पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेयले राससलाई जानकारी दिए । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

वाग्मतीको तिलगङ्गा क्षेत्रमा २११औँ हप्ताको सफाइ काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो । जनचेतनामूलक सफाइका क्रममा फोहर र प्लाष्टिक नजलाऔँ भन्ने सन्देश प्रवाह गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिए । सो अवसरमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको थियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १२०औँ हप्ताको सफाइ गरियो । १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले राससलाई जानकारी दिए ।

मनोहरा नदी सफाइको १०९औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित वाग्मती मनोहरा दोभान क्षेत्रमा सफाइ एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चन्द्र दङ्गालले राससलाई जानकारी दिए । सफाइमा सुरक्षा निकाय, सञ्जय साई अर्गनाइजेसन, स्थानीय टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र स्थानीयवासी गरी १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

चक्रपथ सफाइ अभियानको १०६औँ हप्तामा गोङ्गबु चोकबाट बसुन्धारासम्मको क्षेत्रमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी लोकबहादुर टण्डनले जानकारी दिनुभयो । घरदैलो गरी कुहिने फोहर सडकमा नफाल्न आह्वान गरिएको थियो ।

जनचेतनामूकलक अभियान बढी प्रभावकारी हुने अनुभव आज गरिएको अभियानकर्मीले जनाएका छन् । सफाइमा सुरक्षा निकाय, हिमालयन वातावरण संरक्षण प्रालिलगायत संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

आलोकनगर सफाइको १०६औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिए । त्यस क्षेत्रमा घरदैलो समेत गरी सडक एवं नदी किनारमा फोहर नफाल्न आग्रह गरिएको थियो । टोल घर दैलो अभियानअन्तर्गत प्लाष्टिक जलाउने र ढल नदीमा हाल्ने कामको अन्त्य गर्न पनि सो अवसरमा आह्वान गरिएको थियो ।

चक्रपथ–बाफल खण्ड सफाइको ८८औँ हप्तामा कलङ्की चोकबाट बाफलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा सुरक्षाकर्मीलगायत १५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । आजको सफाइमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व गभर्नर डा दीपेन्द्रबहादुर क्षेत्री पनि सहभागी हुनुभयो । सफाइ अभियानम सबैको साथ र सहयोग हुनुपर्नेमा उनले जोड दिए ।