पु.समाचार

पानीको मूल संरक्षणमा देखिए प्रदीप पौडेल

तनहुँ । पानीको मुहान सुकेर पानी अभाव हुँदै जान थालेपछि पानीको मूलको संरक्षण गर्न यतिबेला नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल सक्रिय भएर लागेका छन् । शुक्लागण्डकी नगरपालिका वडा नं ८ स्थित ढोरफिर्दीमा रहेको पानीको मुहान नजिकै नेता पौडेलले बिरुवा रोपेर पानीको मुलको संरक्षण गरेका हुन् । वन जङ्गल फँडानीले पानीको मूल सुक्दै जान थालेपछि नेता पौडेलले स्थानीयलाई साथ लिएर मूलको संरक्षणमा लागेका हुन् ।
नेता पौडेलले पछिल्लो समय ग्रामीण भेगमा खानेपानीको अभाब ज्यूँका त्यू छ भने । मानिस सहर झर्नेक्रम बढ्नु र पानीको मुहान सुक्दै जान थालेपछि बस्ती नै उजाड हुने खतराबाट बचाउन आवश्यक भएको उनले उल्लेख गरे ।

वन विनाश हुनेक्रम बढेसँगै पानीको स्रोत पनि सुक्दै गएको छ शुक्लागण्डकी– ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले भने, “बर्खायाम शुरु भइसक्दा पनि पानीको मूल नफुट्दा झनै समस्या उत्पन्न भएको छ ।” शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले खानेपानी समस्याको समाधानका लागि स्थानीयवासीले सक्रियता देखाउनुपर्ने बताए। “आफू र आफ्नो सन्ततिका लागि पनि पानीको मुहान संरक्षण गर्न आवश्यक छ”, उनले भने, “यसका लागि सर्वप्रथम स्थानीयवासी नै जागरुक बन्नुपर्छ ।”