समाचार

औषधिमा मुलुक आत्मनिर्भर हुनुपर्छ – उपराष्ट्रपति पुन

पोखरा । उपराष्ट्रपति नन्दबहादुर पुनले गुणस्तरीय औषधि उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । नेपाल औषधि व्यवसायी सङ्घको १३ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकमा ५५ प्रतिशत औषधि उत्पादन हुने गरेकामा अब यसको उत्पादनमा वृद्धिका लागि आह्वान गरे ।
उपराष्ट्रपति पुनले भने “ औषधि व्यवसायीले गुणस्तरीय, जनसुरक्षित, सर्वसुलभ रुपमा औषधि बिक्री वितरण गर्नुपर्छ । उनीहरुले कहिलेकाहीँ चिकित्सकको समेत भूमिका निर्वाह गर्नुपर्ने भएकाले अत्यन्त सजग भएर सेवा प्रदान गर्नुपर्छ ।”

राज्यबाट आधारभूत स्वास्थ्य सेवामा समान पहुँचको व्यवस्था गर्ने भनिए पनि ग्रामीण क्षेत्रमा औषधि नपाएर अकाल मृत्यु हुनु दुःखको विषय भएको बताउँदै उपराष्ट्रपतिले नेपालमा घरेलु उपचारको विशिष्ट पहिचान रहेकाले आयुर्वेदिकका साथै प्राकृतिक र होमियोपेथिक सेवालाई प्रभावकारी बनाउन आह्वान गरे । नेपाल जडीबुटीको देश भएकाले औषधि निर्माण गरी आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले भने “सस्तोमा कच्चा पदार्थ निर्यात गर्ने र सोही कच्चा पदार्थबाट निर्मित औषधि आयात गरी महँगोमा खरीद गर्ने प्रवृत्तिलाई बढावा नदिनुतर्फ पनि सचेत हुनुपर्छ ।” उनले महँगोमा औषधि किन्नुपर्ने उपभोक्ताको जनगुनासो बढेकाले सो विषयमा औषधि उत्पादक र व्यवसायीलाई गम्भीर हुन सुझाव दिए ।

सो अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकलाई समृद्ध र नागरिकलाई स्वस्थ्य बनाउनका लागि औषधि व्यवसायीलाई सकारात्मक सोचका साथ काम गर्न आग्रह गरे । उनले गुणस्तरीय औषधि उत्पादन र बिक्रीवितरण सही ढङ्गले गर्नेलगायत विषयमा महाधिवेशनमा छलफल गर्न सुझाव दिए ।

ललितपुरस्थित महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नेपालीको जनस्तर उठाउन औषधि व्यवसायी पनि अग्रसर हुनुपर्ने विचार व्यक्त गरे । नेपाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालको विकासका लागि पुरानो मानसिकतालाई त्यागी निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपकप्रसाद दाहालले संस्थाले सामाजिक अभियानका रुपमा मरणोपरान्त अङ्गदान कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले औषधि व्यवसायलाई सङ्गठित र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला, औषधि व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, गण्डकी शाखाका अध्यक्ष रामबहादुर केसीलगायतले नेपाल औषधि व्यवसायी सङ्घको महाधिवेशनको सफलताको कामना गरे । सो अवसरमा औषधि व्यवसायी सङ्घद्वारा प्रकाशित स्मारिका विमोचन गरिएको थियो । दुईदिने सो महाधिवेशनबाट नयाँ पदाधिकारीको चयन हुनेछ । महाधिवेशनमा मुलुकभरिबाट २७० प्रतिनिधि र पर्यवेक्षक गरी ३५० जनाको सहभागिता छ ।