राजनीति

ओली सरकारको हावादारी गफ काम जिरो देखेर नेपाली जनता हैरान भएः सभापति देउवा

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घको ४९ औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकारको विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताए । सभापति देउवाले कुरा धेरै गर्ने र काम शुन्य गर्ने कारण नेपाली जनता ओली सरकारबाट हैरान भएको विचार ब्यक्त गरेका थिए

“निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचार विरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ,”–उनले भने । सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसङ्घको तदर्थ समिति गठन गर्ने बताए । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसङ्घ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाई छ ।
काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकार कुरा गर्ने काम नगर्ने तर्फ अगाडि बढेको बताउँदै यसको विरुद्द काँग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए। “नेविसङ्घको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति संगठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,”–उनले भने ।
काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिकायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए । “आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसङ्घको संगठन विस्तारमा लाग्नुपर्छ,”–उनले भने ।
काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसङ्घको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताए ।
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको नयाँ कार्यसमितिलाई तत्काल निर्माण गरेर नेविसङ्घलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताए ।

नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज बैद्यले पार्टीले नेविसङ्घको कार्यसमिति तत्काल गठन गर्न माग गरे ।