आर्थिक

गृहिणी पनि शेयर बजारमा

खस्यौली । शेयर बजारको केन्द्र बन्न थालेको प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा गृहिणीले पनि शेयर बजारमा लगानी गर्न थालेका छन् । गृहिणी, शिक्षक र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा आबद्ध महिला लगानीकर्ताले बुटवलस्थित लिञ्च स्टक मार्केट लिमिटेडमार्फत सो लगानी गरेका हुन् । उनीहरुले रु तीन लाखदेखि रु १० लाखसम्म लगानी गरेर लाभांशसमेत लिएकोे उक्त लिमिटेडका अधिकृत सोनम पाठकले जानकारी दिए ।

उनका अनुसार लामो समयका लागि कम जोखिम भएका बैंक, इन्सुरेन्स कम्पनीमा महिला लगानीकर्ताको आकर्षण देखिएको छ । “हामीकहाँ लगानी गर्न आउने विभिन्न व्यवसायमा आबद्ध महिलाको भीडभाड नै हुन्छ,” उनले भने विभिन्न क्षेत्र कार्यरत करीब ४० प्रतिशत महिला शेयर बजारमा संलग्न रहेको बताइएको छ । “कतिपयले बुझेर लगानी गरेका छन् भने कतिपयले नबुझेर पनि लगानी गरिरहेका छन् । ” उनले भने । उक्त लिमिटेडबाट यससाता झण्डै रु ६० लाख बराबरको कारोवार भएको छ । गत साता रु एक करोड बराबरको कारोवार भएको थियो ।

त्यस्तै मिडास स्टक ब्रोकिङ कम्पनी लिमिटेडले यस साता रु ३० लाखको हाराहारीमा कारोवार गरेको छ । गत साता सो कम्पनीले रु ३८ लाख बराबरको कारोवार गरेको थियो । “हाम्रो कार्यालयमा चिकित्सक, इञ्जिनीयर, शिक्षकलगायत लगानीकर्ता आइरहेका छन्,” मिडास स्टक ब्रोकिङ कम्पनी लिमिटेडका विज्ञान बज्राचार्यले भने । यस्तै दक्षिणकाली इन्भेष्टमेण्ट प्रालिले पनि दैनिक रु २० लाखको हाराहारीमा कारोवार गर्दै आएको जनाएको छ । शेयर बजार यो साता उकालो लागेपछि नयाँ लगानीकर्तामा पनि उत्साह थपिएको छ ।