बाग्मती

गयल शिक्षकको तलब कट्टा

काभ्रेपलाञ्चोक । नयाँ शैक्षिक सत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचना बिना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्नेभएको छ । नयाँ शैक्षिक सत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले बताए।

उनका अनुसार गत शैक्षिक सत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो । लामाले भने , “शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापर्वाही हो, अब निवेदन र सूचना नदिई बस्ने शिक्षकको तलब कट्टा गर्छौं ।” उनले सूचना प्रकाशित गरी विद्यालयभित्रको अनियमितता र शिक्षकको लापर्वाहीबारे अभिभावकले गाउँपालिकामा उजुरीसमेत गर्नसक्ने प्रावधान बनाइएको बताए ।

गत शैक्षिक सत्रमा गाउँपालिकाभित्र गरिएको अनुगमनका क्रममा बिदामा बसेको शिक्षकले विद्यालयमा निवेदन नदिएको, बिदा बसेको शिक्षकबारे प्रधानाध्यापकलाई थाहा नभएको, बिदामा बसेको दिनको हाजिर गरिएको र प्रअ समेतले आफूखुशी विद्यालय आउने र बिदा नजनाउने गरेको पाइएको लामाले जानकारी दिए ।

उनले भने “अब प्रअले शिक्षक विद्यालय आएको–गएको समय, बिदाको निवेदन र हाजिरीमा बिदा पनि जनाउनु पर्नेछ ।” प्रत्येक महीनाको अन्त्यमा शिक्षकको हाजिरकापी तथा शिक्षक बिदा बसेको निवेदनको प्रतिलिपि गाउँपालिकामा बुझाउनुपर्ने नियम पनि बनाइएको छ । हाजिरीअनुसार प्रअले गाउँपालिकाले बनाइएको छुट्टै फारम भर्नुपर्ने त्यसपछि मात्रै शिक्षकको तलब पठाइने लामाले बताए ।

“अब शिक्षकको हाजिरी र बिदा निवेदनको आधारमा तलब पठाइन्छ, जसले शिक्षक अनुशासनमा बस्ने र गुणस्तरीय शिक्षामा मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।” माविसम्मका ४३ वटा विद्यालय रहेको तेमाल गाउँपालिकामा करीब तीनसय शिक्षक कार्यरत रहेका छन् । गाउँपालिकाले वैशाख महीनादेखि शिक्षकको बैंक खातामा प्रत्येक महीना तलब पठाउने तयारी गरिरहेको छ ।