सुदूरपश्चिम

न्याय सम्पादनमा दुई स्थानीय तह उत्कृष्ट

काठमाडौँ । न्याय सम्पादनमा जिल्लाका दुई स्थानीय तह उत्कृष्टमा परेका छन् । दीपायल सिलगढी नगरपालिकाको महिला तथा बालबालिका एकाइले आयोजना गरेको लैङ्गिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता विकाससम्बन्धीे दुईदिने तालीममा उक्त नगरपालिका र जोरायल गाउँपालिका उत्कृष्टमा परेको जानकारी दिइएको हो ।

डोटी जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुले गरेको अनुगमनका क्रममा अन्य स्थानीय तहको तुलनामा यी दुई स्थानीय तहका न्यायिक समितिले उत्कृष्ट काम गरेको पाइएको बताए । उनले भने, “न्याय सम्पादनमा जिल्लाका उक्त नगरपालिका र जोरायल गाउँपालिका उत्कृष्ट छन् र अन्य स्थानीय तहका समितिले पनि राम्रैसँग न्याय सम्पादन गरेका छन् ।”

न्यायिक समितिले न्याय सम्पादन गर्दा लैङ्गिक हिंसा निवारण गर्न भूमिका निर्वाह गर्न सक्ने भएकाले उक्त तालीम आयोजना गरिएको सोही नगरपालिका प्रमुख मञ्जु मलासीले बताए । उनले भने “न्यायिक समितिलाई गाउँमा न्याय दिलाउन सजिलो होस् भनेर हामीले तालिम सञ्चालन गरेका हौँ । ”

न्यायिक समितिमा आउने मुद्दा सम्पादन गर्ने क्रममा कानूनी भाषा बुझ्न कठिन भएका कारण केही समस्या हुने गरेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई खासै कानूनी भाषाको ज्ञान नभएका कारण केही समस्या भए पनि छ, समस्या समाधान गर्दै लगोका छौँ ।

” उक्त नगरपालिकाको न्यायिक समितिमा आएका कम्तीमा पनि ४० भन्दा बढी मुद्दामध्ये सबै मुद्दा फछ््र्यौटको अवस्थामा रहेको सो अवसरमा बताइएको थियो । तालीममा जिल्ला न्यायाधीश जयानन्द पनेरू, प्रजिअ यादव सुवेदी, सहायक प्रजिअ टेकनारायण पौडेल, प्रहरी नायब उपरीक्षक लालबहादुर धामी, अधिवक्तालगायतले सहजीकरण गर्ने महिला तथा बालबालिका एकाइ प्रमुख सोहना जोशीले जानकारी दिनुभयो ।