समाचार

विपन्नलाई खाद्यान्न र कपडा

बागलुङ । गलकोट नगरपालिका–९ छिसका विपन्न दम्पत्तिलाई खाद्यान्न र बिछ्यौँनाका सामग्री सहयोग गरिएको छ । ७८ वर्षीय चन्द्रबहादुर रामजाली र उनकी श्रीमती ८० वर्षीया सरस्वतीलाई घुम्टे युवा परिवार, मल्मले बिहीबार सहायता सामग्री उपलब्ध गराएको हो ।
रु दश हजार बराबरको खाद्यान्न र कपडा प्रदान गरिएको परिवारका अध्यक्ष थम्मन थापाले बताए । वडा नं– ७ का अध्यक्ष टीकाबहादुर थापा र वडा नं– ९ का वडासदस्य धर्मदत्त सापकोटाको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो ।

घरमा अन्य सदस्य कोही नभएपछि रामजाली दम्पत्ति बुढ्यौलीमा कष्टपूर्ण दैनिकी काट्न बाध्य छन् । ‘उनहरुको कठिन अवस्था देखेपछि सानो भए पनि सहयोग गरेका हौँ’ अध्यक्ष थापाले भने । दैनिक उपभोग्य सामग्री र सुत्ने बिछ्यौँना अभाव रहेको थाहा पाएपछि वडाध्यक्षसहितको टोली सहयोग लिएर घरमै पुगेका थिए । सहयोग सामग्री बुझेपछि रामजाली दम्पत्ति खुशी देखिएका थिए ।

सम्पत्ति, जग्गा केही नभएका रामजाली दम्पत्तिले ज्येष्ठ नागरिक सुरक्षा भत्ताबाट गुजारा चलाउँदै आएका छन् । भएकी एउटी छोरी बिहे गरेर गएपछि बुढेसकालमा रामजाली दम्पत्ति साहाराविहीनझैँ बनेका छन् । वासको नाममा उनीहरुको सानो खरको झुपडी छ ।