बाग्मती

रसुवागढीका स्वास्थ्यकर्मीलाई प्रशिक्षण

रसुवा । उत्तरी नाका रसुवागढीबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा सहजता ल्याउन सीमा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई बिहीबार पहिलो प्रशिक्षण दिइएको छ ।

स्वास्थ्य सेवा विभागको आयोजनामा नेपाल–चीनबीच रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा थप सहयोग पुर्याउन त्यहाँ स्थापित हेल्थडेस्क, टिमुरे स्वास्थ्यचौकी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका प्राविधिक कर्मचारीलाई दुई दिने प्रशिक्षण सञ्चालन गरिएको हो ।

विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु ज्ञवालीले रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएकाले एकापसमा रोग नसरोस् भन्ने उद्देश्यले स्वास्थ्य प्रशिक्षण सञ्चालन गरिएको बताए । प्रशिक्षणमा सीमा क्षेत्रमा कार्य गर्ने नेपाल प्रहरी र जनपथ प्रहरीका चार जनाको पनि सहभागिता रहेको छ । स्वास्थ्यकर्मीलाई डा दीपेन्द्र गौतम, प्रकाश शाह र जनस्वास्थ्य अधिकृत अम्बर दवाडीसमेतले प्रशिक्षण दिएका थिए ।

विसं २०७४ भदौ १६ गते अन्तर्राष्ट्रिय नाकाको मान्यता पाएलगतै पर्यटकको चहलपहल बढ्न थालेको हो । यस अवधिमा चिनियाँबाहेक विभिन्न ६० देशका २० हजार १०४ पर्यटक रसुवागढी नाकाबाट ओहोरदोहोर भइसकेका छन् । निःशुल्क प्रवेशाज्ञामा छ हजार ५८ चिनियाँ पर्यटक नेपाल भित्रिएको र सात हजार २४७ जना भारतीय पर्यटक मानसरोवर तीर्थ गरेर सोही नाका हुँदै फर्केको अध्यागमन कार्यालय रसुवागढीले जनाएको छ ।