पु.समाचार

जनताको काम सहज रुपमा गर्न जनप्रतिनिधिलाई राष्ट्रपति भण्डारीको आग्रह

राँझा । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् ।

“हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो अवसर हो,” नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले भने , “राष्ट्रपतिज्यूसँग प्रत्यक्ष रुपमा भेटघाट गरेर विकास निर्माणका सवालमा छलफल गर्न पाउँदा खुशी लाग्यो ।”

उनले राष्ट्रपतिसामु स्थानीय सरकारका कामकार्वाही र बाँके बर्दियाको विकासको सवालमा कुरा राख्न पाउँदा आफूहरु उत्साहित भएको बताए । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले नेपालगञ्ज विमानस्थलको स्तरोन्नति र सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनका बारेमा राष्ट्रपतिसामु कुरा राख्न पाउँदा हर्षित भएको बताए । राष्ट्रपतिसामु आफूले प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने, स्थानीय सरकारको अधिकार कटौती नगर्नुपर्ने लगायतका सवालमा गाउँपालिका महासङ्घका तर्फबाट कुरा राखेको बताए ।

भेटघाटमा स्थानीय सरकारका जनप्रतिनिधिले राखेका समस्या र प्रदेश सरकारका बारेमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राष्ट्रपतिसामु आफ्ना कुरा राखेका थिए । जनप्रतिनिधिको कुरा सुनेपश्चात् राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रुपमा गर्न आग्रह गरेकी थिइन । सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री पोखरेल, प्रदेश नं ५ का उपलब्ध सङ्घीय सांसद, प्रदेश सांसद, बाँके बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न बिहीबार नेपालगञ्ज आउनुभएकी राष्ट्रपति भण्डारीले जनप्रतिनिधिको भेटघाटपछि साँझ नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गरेका थिए । राष्ट्रपति भण्डारी आज काठमाडौँ फर्किनुभएको राष्ट्रपति सचिवालयका उपसचिव दीपा शर्माले जानकारी दिए ।