अन्तर्राष्ट्रिय

लोकसभाका लागि दोस्रो चरणको निर्वाचन सम्पन्न, ६६ प्रतिशत मत खस्यो

नयाँ दिल्ली । भारतको लोकसभा चुनावको दोस्रो चरण अन्तर्गत बिहीवार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९५ सिटको लागि भएको चुनाव शान्तिपूर्णरूपमा सम्पन्न भएको भारतीय निर्वाचन आयोगले बिहीबार जनाएको छ ।

भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको चुनावमा बिहीबार १२ राज्य र एक केन्द्र शासित प्रदेशका ९५ सिटका लागि मतदान भएको हो ।दोस्रो चरणमा ६६ प्रतिशत मत खसेको भारतीय निर्वाचन आयोगका उमेश सिन्हले जनाएका छन् । दोस्रो चरणमा भारतको आसाम, विहार, छत्तिसगढ, जम्मु–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिशा, पाण्डेचरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका ९५ सिटका लागि निर्वाचन भएको हो ।

विद्युतीय मतदान मेसिन (इवीएम) मा आएका केही प्राविधिक समस्याका कारण उडिशाका चार मतदान केन्द्रमा पुनः निर्वाचन गराउने निर्णय पनि निर्वाचन आयोगले लिएको छ । उडिसा राज्यमा एकजना निर्वाचन अधिकारीलाई माओवादी विद्रोहीहरूले एम्बुसमा पारी गोली हानी हत्या गरेका बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका निम्ति निर्वाचित हुने अभिलाषासाथ अभियानमा सहभागी छन् भने विपक्षी कङ्ग्रेसले उनलाई कडा चुनौती दिइरहेको विश्लेषकहरूले बताएका छन् ।

यो चुनावलाई प्रधानमन्त्री मोदीप्रति जनमत सङ्ग्रहको रूपमा पनि हेरिएको छ । भारतको लोकसभा निर्वाचनलाई विभिन्न सात चरणमा सम्पन्न गर्ने कार्यतालिका अनुसार आजसहित दुई चरणको निर्वाचन सम्पन्न भइुकेको छ । मे १९ मा अन्तिम चरणको मतदान सकिएपछि मे २३ मा मतगणना हुनेछ ।