प्रदेश 1

जिल्ला प्रशासनमा १७ थान हतियार बुझाइयो

विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीबारसम्ममा विभिन्न १७ थान हात हतियार बुझाइएको छ । गृहमन्त्रालयको निर्देशनबमोजिम हातहतियार बुझाउने बिहीबार अन्तिम दिनसम्ममा उक्त हतियार बुझाइएको हो ।

गृह मन्त्रालयले विसं २०७५ चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर विभिन्न हातहतियार बुझाउन निर्देशन गरे बमोजिम उक्त हतियार बुझाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताईन् । बुझाइएका हातहतियारमा भरुवा बन्दुक र दुईनाले बन्दुक रहेको सहायक प्रजिअ ओलीले जानकारी दिईन्। मोरङका जिल्ला प्रहरी कार्यालय मोरङ, उर्लाबारी, बेलबारी लगायतका सुरक्षा निकायका कार्यालयमा हातहतियार बुझाइएको छ ।

मोरङ जिल्लामा ७२३ जनाको नाममा हतियार दर्ता रहेको र म्यादभित्र २१७ वटा मात्र नवीकरण भएको जिल्ला प्रशासन कार्यालय मोरङका नायब सुब्बा तुलसीप्रसाद पौडेलले जानकारी दिए । नेपाल सरकारको निर्णयबमोजिम एकपटकलाई नवीकरण नगरेका र अवैधरुपमा रहेका हातहतियार बुझाउनलाई निर्देशन दिइएको सहायक प्रजिअ ओलीले बताईन् । समयभित्र नबुझाइएका हातहतियार भेटिएमा कानूनअनुसार कारवाही गरिने पनि उनले जानकारी दिईन् ।