समाचार

ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका स्वीकृत भयो

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा काम गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने भएको छ । धुलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनुपर्ने भएकाले ट्राफिक प्रहरीलाई सरकारले भत्ता दिन लागेको हो । भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका–२०७५ समेत स्वीकृत भएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीमा कार्यरत कार्यालय सहयोगी, सिपाही र हवल्दारका लागि ४० प्रतिशत, प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकका लागि २० प्रतिशत र प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकका लागि १० प्रतिशत भत्ता पाउने व्यवस्था भएको जानकारी दिए ।

ट्राफिक प्रहरीले आफ्नो तलबको आधारमा भत्ता पाउनेछन् । सरकारले विसं २०६९ मा ट्राफिक प्रहरीले उठाएको राजश्वको १५ प्रतिशत कमिसन ट्राफिक प्रहरीलाई दिने निर्णय गरेपछि आर्थिक वर्ष २०७०/७१ मा मात्र ट्राफिक प्रहरीले अतिरिक्त भत्ता पाएका थिए । ट्राफिक प्रहरीले भत्ताकै लागि सवारी चालकसँग जथाभावी पैसा लिए भन्ने व्यापक गुनासो आएपछि सरकारले विसं २०७४ जेठ १५ गते उक्त कमिसन हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सरकारले ट्राफिक प्रहरीलाई अतिरिक्त भत्ता दिने निर्णयसँगै ट्राफिक प्रहरीको मनोबल बढेको बताए । “जो धुवाँ, धुलो, घाम, पानी नभनी सडकमा खटिन्छन् त्यसलाई भत्ता दिने निर्णय गरेर सरकारले राम्रो काम गरेको छ”, उनले भने। महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा एक हजार ८३ दरबन्दी भए पनि एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् ।