समाचार

युएन मिसनमा खटिएको प्रहरी टोलीलाई महानिरीक्षक खनालद्वारा बिदाइ

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटिएको टोलीलाई बिदाइ गरेका छन् ।

महानिरीक्षक खनालले १६ औँ समूहमा खटिई जाने टोलीको कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे । बिदाइ कार्यक्रममा महानिरीक्षक खनालले संयुक्त राष्ट्रसङ्घको तर्फबाट शान्तिदूतका रुपमा खटिने भए पनि मिसनमा खटिने प्रहरी कर्मचारीले देश र सङ्गठनको प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रप्रति समर्पणभावसँगै दिएको जिम्मेवारी उच्च व्यवसायिकता प्रदर्शन गर्नुपर्ने बताए।

महानिरीक्षक खनालले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा स्थानीय रीतिरिवाज, परम्परा र मौलिकताप्रति सदैव संवेदनशील रहनुपर्ने बताउँदै मिसनमा रहँदा उच्च अनुशासनमा रहनुपर्ने उल्लेख गरे । उनले आफ्नो ज्ञान, सीप एवं कौशलको पूर्ण सदुपयोग गर्दै लगनशील भई आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा युएन महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विभूतिराज पाण्डेले १८० जनाको प्रहरी टोली वैशाख ९ र १६ गरी दुई चरणमा मिसन जान लागेकोे जानकारी दिए । मिसनमा प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी नायब उपरीक्षक नौ, प्रहरी निरीक्षक तीन, प्रहरी नायब निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४८, प्रहरी हवल्दार ७६, प्रहरी जवान पाँच र प्रहरी कार्यालय सहयोगी ६ जना रहेका छन् ।