आर्थिक

एनएमबीले ल्यायो सबैको सहारा बचत खाता

चिप्लेढुङ्गा । एनएमबी बैंकले नयाँ वर्षका उपलक्ष्यमा सम्पूर्ण नागरिकलाई लक्ष्य गरी ‘एनएमबी सबैको सहारा बचत खाता’ योजना ल्याएको छ । सो योजनाअन्तर्गत बैंकमा खोलिने ‘सबैको सहारा बचत खाता’ मा बैंकका तर्फबाट रु १०० जम्मा गरिने बैंकका गण्डकी प्रदेश प्रमुख मनोज केसीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए । सो खातामा प्रत्येक ग्राहकको अग्रिम बीमा सुरक्षण गरिने बताइएको छ ।

खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अङ्गभङ्ग भएमा वा अर्बुदरोग, मिर्गौला निष्क्रियता, हृदयाघात, पक्षाघातलगायत गम्भीर १८ रोगमध्ये कुनै रोग लागेमा खातावाला वा हकवालालाई खातावालको खातामा जति पैसा छ त्यसको चौब्बर र अधिकतम रु १० लाखसम्मको बीमा रकम उपलब्ध गराइने केसीले बताए ।

सरकारको नीतिलाई अवलम्बन गर्दै हरेक नागरिकमा बैंकिङ आदत बसाल्न र विनाझञ्झट रोग पत्ता लाग्नसाथ बीमा रकम उपलब्ध गराइने सो योजनाको विशेषता रहेको उनको भनाइ थियो । नेपालभरि ११० शाखा रहेको सो बैंकको गण्डकी प्रदेशमा आठ शाखा छन् । सन् २०१७ र २०१८ मा लगातार ‘बैंक अफ दि इयर’ सम्मानबाट सम्मानित एनएमबी बैंक ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालूजको नेपालमा एक मात्रै सदस्य बैंक रहेको बैंकका प्रदेश प्रबन्धक अमृतराज बाँस्तोलाले बताए ।

विदेशी संयुक्त लगानी साझेदारमा एफएमओ नेदरल्याण्ड्स र योङ लियान मलेसिया छन् । चौबीस वर्षदेखि वित्तीय क्षेत्रमा योगदान पुर्‍याएको सो बैंकले विशेष गरी कृषि, पर्यटन र ऊर्जामा लगानीलाई प्राथमिकता दिँदै आएको बाँस्तोलाले बताए । एफएमओ नेदरल्याण्ड्स सरकारको अन्तरराष्ट्रियस्तरमा मूल्याङ्कन भएका बैंकमध्ये एक रहेको उनको भनाइ थियो ।