समाचार

मलेसियामा रहेका नेपाली समुदायद्वारा हावाहुरी पीडितका लागि आर्थिक सहयोग

काठमाडौँ । मलेसियामा रहेका नेपाली समुदायले बारा र पर्साका हावाहुरी पीडितलाई रु एक लाख एक हजार ४०३ सहयोग गरेका छन् । मलेसियामा क्रियाशील नेपाली सङ्घसंस्था, नेपाली व्यवसायी समाज, जनजाति महासङ्घ, सुदूरपश्चिम सेवा समाज, दोलखा सेवा समाज, नेपाली आदिवासी जनजाति पत्रकार महासङ्घ र खोटाङ सेवा समाजका प्रतिनिधिले संयुक्तरुपमा उक्त रकम सहयोग गरेका हुन् ।

सहयोग रकम मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेसमक्ष हस्तान्तरण गरिएको छ । हावाहुरी पीडितका लागि सङ्कलन गरिएको आर्थिक सहयोगका निम्ति धन्यवाद दिँदै राजदूत पाण्डेले उक्त रकम प्रधानमन्त्री राहत तथा दैवीप्रकोप उद्धार कोषमा दाखिला गरिने बताउनुभएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

कन्सुलर शिविर सञ्चालन गरिने

यसैबीच मलेसियाको क्वाललम्पुरस्थित नेपाली दूतावासले त्यहाँबाट प्रदान गरिने सेवा सरल र सहजरुपमा उपलब्ध गराउने उद्देश्यले तेरेङ्गानु राज्यमा कन्सुलर शिविर सञ्चालन गर्ने भएको छ ।

यही वैशाख ८ गते तेरेङ्गानुस्थित होलट ग्राण्ड कन्टिनेन्टलमा सञ्चालन गरिने उक्त शिविरबाट राहदानी नवीकरण आवेदन, नयाँ राहदानी आवेदन, यात्रा अनुमतिपत्र बनाई स्वदेश फर्कन सहयोग गरिने र श्रमसम्बन्धी गुनासोको सुनुवाइ गरिने दूतावासले जनाएको छ । दूतावासले कामका सिलसिलामा त्यस क्षेत्रमा रहेका नेपालीलाई शिविरमा सहभागी भई सेवा लिन पनि अनुरोध गरेको छ ।