समाचार

मृतकको परिवारलाई बीमा रकम

रुकुमपूर्व । स्काभेटरले किचेर मृत्यु भएका जिल्लाको सिस्ने गाउँपालिका–७ सानचौरका चन्द्रबहादुर बुढाकी श्रीमती लिलाकुमारी बुढालाई बीमा रकम हस्तान्त्रण गरिएको छ । बुढालाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बीमाअन्तर्गतको रु पाँच लाख रकमको नेपाल बैंक लिमिटेडको चेक हस्तान्तरण गरेका छन् ।

मृतकको परिवारलाई केही हदसम्म भए पनि राहत मिल्ने भन्दै जक्सन निर्माण सेवा एण्ड सप्लायर्स कम्पनीमार्फत् उक्त बीमा रकम उपलब्ध गराइएको बताइएको छ । आर्थिक स्थिति कमजोर रहेको उक्त परिवारले बीमा रकम पाएपछि घरखर्च चलाउन सजिलो भएको भन्दै परिवारले प्रजिअ शर्मालाई धन्यवादसमेत दिएका छन् ।

चन्द्रबहादुर गत चैत २७ गते जनसेवा आधारभूत विद्यालय भवनको खेलमैदान खन्ने क्रममा स्काभेटरले किच्दा गम्भीर घाइते भएका थिए । उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।