समाचार

विद्युतीय कारोवार ऐनका दफा खारेजीको मागगर्दै पत्रकार महासङ्घ आन्दोलित

काठमाडौँ । पत्रकारले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरी धर्ना दिएका छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँको अगुवाइमा पत्रकारले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दैँ जिल्ला प्रशासन कार्यालय अगाडि आज एक घण्टा धर्ना दिएका हुन् ।

काठमाडौँ शाखाले पत्रकारमाथि भएको धरपकड रोक्नुपर्ने लगायत माग राख्दै प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष शन्तराम बिंडारीले समाचार लेखेकै कारण पत्रकारलाई धरपकड गरी दुःख दिने कार्य तत्काल रोक्नुपर्ने माग गरेका छन् ।

पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको छ भन्दै उक्त दफा खारेजीको माग गर्दै देशभर सङ्घर्षका कार्यक्रम चलाएको छ । महाङ्घले प्रेस स्वतन्त्रताको माग गर्दै आज गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनसमेत बुझाउने भएको छ ।