लुम्बिनी

संस्थागत विद्यालय बन्द गराएर सामुदायिकमा विद्यार्थी भर्ना

बेझाड । सामुदायिक विद्यालय छाडेर संस्थागत विद्यालय जाने धेरै अभिभावक र विद्यार्थीको रोजाइमा पर्छ । केही सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर उच्च रहँदारहँदै पनि अभिभावकले संस्थागत विद्यालयमै आफ्ना बालबालिकालाई भर्ना गराउँदै आएका छन् ।

महँगो शुल्क तिरेर संस्थागत विद्यालयमा लैजाने अभिभावकको लहर बढेका बेला पाल्पाको पूर्वखोला गाउँपालिकामा सञ्चालित सबै संस्थागत विद्यालय सामुदायिकमा गाभिन पुगेका छन् । गाउँपालिकामा सञ्चालन हुँदै आएका पाँच संस्थागत विद्यालय यसै शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गाभिएका हुन् । गाउँपालिकाले गत वर्ष गाउँ शिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाएको थियो । उक्त कार्यदलले सरकारी र संस्थागत विद्यालय अनुगमन गरी प्रतिवेदन तयार गरेर यसै शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गाभेको हो ।

पूर्वखोला बोर्डिङ स्कूललाई उद्बुद्ध मावि रिङ्नेरहमा, जोनन इङलिस बोर्डिङ स्कूललाई गणपति मावि वीरकोटमा, सरस्वती बोर्डिङ स्कूललाई सरस्वती मावि जल्पामा, माउन्ट भ्यू बोर्डिङ स्कूललाई शम्भु मावि जल्पामा र चिराग बोर्डिङ स्कूललाई मातृभूमि मावि देवीनगरमा गाभिएको गाउँपालिकाका शिक्षा शाखाप्रमुख मणि खनालले जानकारी दिए ।

गाउँपालिकाभित्र एकै प्रकारको शिक्षा प्रदान गर्ने उद्देश्यले संस्थागतलाई सामुदायिकमा गाभिएको उनले बताए । यहाँका अभिभावक र विद्यार्थीलाई पनि नयाँ शैक्षिक सत्र शुरु भएपछि सामुदायिक र संस्थागत कुन विद्यालयमा भर्ना हुने भन्नेमा अन्योल हटेको छ । गाउँपालिका र सरोकारवालाको समन्वयमा संस्थागत विद्यालयलाई सामुदायिकमा गाभिएको हो । शैक्षिक गुणस्तर वृद्धि गरी गाउँपालिकाभित्रका सबै विद्यालयमा एकरुपताका साथ शिक्षा प्रदान गराउन कार्यविधि अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।

“सामुदायिक विद्यालयमा गाभिएका सबै संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई व्यवस्थापन गर्नेछौँ, संस्थागत विद्यालयका सञ्चालकलाई जग्गा, फर्निचर र भवनको लागत खर्च पनि उपलब्ध गराउँछौँ,” उनले भने ।

आगामी पाँच वर्षभित्रमा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने र शिक्षामा एकरुपता ल्याउने कार्ययोजनालाई गाउँपालिकाले अगाडि बढाएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बर्षेनी कम संस्थागतमा धेरैको आकर्षण बढ्दै जान थालेपछि सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान गरी संस्थागत विद्यालयलाई गाभिएको हो ।

प्रदेश र सङ्घीय सरकारको समन्वयमा शैक्षिक एकरुपता र गुणस्तरीयता वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन शुरु गरिएको छ । गाउँपालिकामा ३७ सामुदायिकमा पाँच संस्थागत विद्यालयका ५८५ विद्यार्थी र ५३ शिक्षक कर्मचारी गाभेर एकै प्रकारको शिक्षा प्रदान गरिने भएपछि यहाँका अभिभावक उत्साहित भएका छन्