गण्डकी प्रदेश

जनप्रतिनिधिलाई मानवाधिकार अभिमुखीकरण सञ्चालन

दमौली । राष्ट्रिय मानवाधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा तनहुँको भानु नगरपालिकामा स्थानीय जनप्रतिनिधिलाई बुधबार मानवाधिकार अभिमुखीकरण सञ्चालन गरिएको छ ।

कार्यक्रममा आयोगका मानवाधिकार अधिकृत टङ्कप्रसाद खनालले स्थानीय तहमा विवाद समाधान र मेलमिलाप तथा मानवाधिकारमैत्री वातावरणका सवालमा सहजीकरण गर्दै स्थानीय तहलाई न्यायिक कार्यविधिअनुरुप विवाद समाधान गर्नका लागि आग्रह गरे । उनले स्थानीय तहबाट मानवाधिकारमैत्री वातावरणमा न्याय सम्पादन गर्दै विकासमा मानवाधिकार पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

आयोगका मानवाधिकार अधिकृत ज्योतिप्रसाद घिमिरेले मानवाधिकार र मानवाधिकार आयोगको काम, कर्तव्य र अधिकारका बारेमा सहजीकरण गरेका थिए । नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक आशा थापाले विवाद समाधान गर्ने क्रममा कानुनी जटिलता रहेको बताउँदै लामो समयदेखि कानूनी सल्लाहकारको अभावमा समितिबाट न्याय सम्पादनमा कठिनाइ भएको बताए । उनले मानवाधिकार र कानूनका सवालमा आयोगसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी वडाध्यक्ष तथा सदस्यले मानवाधिकारको सवाललाई स्थानीयस्तरबाटै सम्बोधन गर्नुपर्ने तथा टोल समुदायमा मानवाधिकारसम्बन्धी सचेतना पु¥याउनुपर्नेमा जोड दिए । उनहरुले नगरपालिकाभित्रमा बालविवाह, महिला हिंसा, सम्बन्धविच्छेद, बालश्रम लगायतका समस्या बढ्दै गएको भन्दै सम्पूर्ण सरोकारवाला निकायबाट यसको न्यूनीकरणमा आवश्यक पहल गर्नुपर्ने बताए ।