गण्डकी प्रदेश

सार्दीखोलामा विपी स्मृति भवन निर्माण

कास्की । कास्कीको माछापुच्छे गाउँपालिका–२ सार्दीखोलामा विपी स्मृति भवन निर्माण गरिएको छ । नेपाली काङ्ग्रेस सार्दीखोला गाउँ एकाइ कार्यसमितिको अगुवाइमा रु ९० लाख लागतमा सो भवन निर्माण गरिएको एकाई सभापति गुञ्जमान गुरुङले जानकारी दिए ।

भवन निर्माणका लागि पूर्वगाविस अध्यक्ष आशबहादुर गुरुङले आठ आना जमीन निःशुल्क प्रदान गरेका थिए । दुई तलाको पक्की भवनको माथिल्लो तला सभाहल तथा तल्लो तलाका चार कोठा कार्यालय प्रयोजनका लागि प्रयोग गरिने उनले बताए ।

भवन निर्माणमा सहयोग जुटाउन गाउँ एकाइले केही महीनाअघि कर्णदास साङ्गीतिक साँझको आयोजना गरेको थियो । सो साँझबाट बचत रु १० लाख, देउसीभैलो तथा पार्टीका शुभचिन्तक, शुभेच्छुकबाट सहयोग सङ्कलन गरेर भवन निर्माणका लागि आर्थिक स्रोत जुटाइएको सभापति गुरुङले जानकारी दिए। सो भवनको वैशाख ६ गते नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताको उपस्थितिमा एक समरोहकाबीच उद्घाटन गरिने पार्टीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि जमीन प्रदान गर्ने तथा रु ३० हजारभन्दा माथि आर्थिक सहयोग गर्नेलाई सम्मान कार्यक्रम राखिएको गाउँ एकाइ कार्यसमितिले जनाएको छ ।