खेलकुद

आठौँ राष्ट्रिय खेलकूदको तयारी पूरा

राँझा । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी पूरा भएको छ । आज उद्घाटन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए ।

प्रतियोगिताका केही खेल गत चैत २७ गतेदेखि सञ्चालन भएका थिए । औपचारिक रुपमा प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ६ बजे नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा गर्ने कार्यक्रम छ । ‘‘उद्घाटनको सबै तयारी पूरा भइसकेको छ,’’ उनले भने, ‘‘राष्ट्रपतिज्यूले बिहीबार साँझ भव्य कार्यक्रमबीच उद्घाटन गर्नेछिन् ।’’

सदस्यसचिव विष्टले प्रत्येक दुई–दुई वर्षमा हुने प्रतियोगिता पहिलो पटक निरन्तर सञ्चालन भएको बताए । सातौँ प्रतियोगिता २०७३ सालमा प्रदेश १ मा भएको थियो । उनले विभिन्न चुनौतीबीच प्रतियोगिता आयोजना गरिएको बताए । ‘‘हामीले बजेट अभावका कारण समयमा नै भौतिक पूर्वाधार निर्माण गर्न सकेनौँ,’’ उनले भने, ‘‘अहिले पनि रातारात भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । चुनौतीका बाबजुद पनि हामी समयमा नै सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्दैछौँ ।’’

सदस्यसचिव विष्टका अनुसार करीब रु एक अर्ब लगानीमा भौतिक पूर्वाधार निर्माण गरिएको छ । करीब रु ११ करोड अझै पनि उपलब्ध नभएको उनले जानकारी दिए । उनले साधन स्रोतको सीमितताले काम गर्न कठिनाइ भएको बताए । प्रतियोगितामा पुरुषतर्फ दुई हजार ८२५ तथा महिलातर्फ दुई हजार ३८६ खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा पहिलो पटक गैरनेपाली आवासीय सङ्घ ९एनआरएन०को समेत सहभागिता छ ।

सदस्यसचिव विष्टले प्रतियोगितामा व्यक्तिगत स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार र विगतको रेकर्ड तोड्ने खेलाडीलाई जनही रु २५ हजार पुरस्कार प्रदान गर्ने जानकारी गराउनुभयो । यसैगरी परिषद्ले आगामी बजेटमा सबै खेलाडीको स्वास्थ्य र दुर्घटना बीमा गर्नका लागि सरकारसँग माग गरिएको बताउनुभयो । नेपालगञ्ज रङ्गशालाका लागि रु २४ करोड बजेट उपलब्ध गराएको छ । रु ६ करोडको लागतमा फुटबल मैदान तथा रु १८ करोडमा भिआइपी प्याराफिट निर्माण गरिएको छ ।

सदस्यसचिव विष्टका अनुसार नेपालगञ्ज रङ्गशालामा खेल्नयोग्य मैदानका लागि रु ३६ लाखको दुबो रोपिएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि नेपालगञ्जलाई आकर्षक तरिकाले सिङ्गारिएको छ । नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र लायन्स क्लबले आठौँ राष्ट्रिय खेलकूदलाई गौरवको महोत्सवका रुपमा लिएर शहरलाई झकिझकाउ बनाएका खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम वलीले बताउनुभयो । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्ष्य गरी नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रका जीर्ण सडक मर्मत गरेको छ । नेपालगञ्ज रङ्गशाला प्रवेश गर्ने मूल तथा सहायक सडक मर्मत तथा कालोपत्र गरिएको छ । प्रतियोगिता नेपालगञ्जसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, काठमाडौँ, ललितपुर र पोखरामा हुनेछन् ।