विचार/ब्लग

मन्त्री बास्कोटाको बेईज्जत गरेकोमा बुद्ध एयरले माफी माग्नुपर्छ (खुलापत्र)

सुर्य थापा/२०७६ बैशाख २ गते भैरहवाबाट काठमाडौं आउने क्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई छाडेर बुद्ध एयरले उडान गरेको बारेमा स्वयं मन्त्रीले घटना विवरण सार्वजनिक गर्नुभएको छ । त्यसमा बुद्ध एयरको ध्यानाकर्षण (?) पढेपछि त हामीलाई ताज्जुब नै लाग्यो । म बुद्ध एयरको यात्री थिइनँ । तसर्थः त्यसबारे बोलेको धिइनॅ । तर हिजो र आजका कतिपय प्रतिक्रिया र दुष्टमतिका टिप्पणी पढेसकेपछि तथ्य लेख्न बाध्य भएको छुः
१. प्यूठानको गौमुखीमा प्रदेशस्तरीय मिडिया सम्मेलन उद्घाटन गर्न उहाँ २०७६ वैशाख १ गते दिउँसो ३ बजे बुद्ध एयरबाट भैरहवा प्रस्थान गर्ने टिकट थियो । तर बुद्ध एयरले डेढ घण्टा ढिलो गरी उडान गरेको हुनाले राती १० बजे मात्र प्यूठानको बिजुवार पुग्न सकियो । म साथमै यात्रामा हुनाले भन्नैपर्छ- नयाँ बर्षको साँझ स्वर्गद्वारी पुगेर आश्रममै रात्रीबास बस्ने योजना डेढ घन्टा ढिलो भैरहवा उडान भएकाले बिथोलियो । यसरी उडान ढिलो गरेकोमा जहाजभित्र दुखसम्म व्यक्त गरेको सुनिएन । जबकि अन्यत्र १ घण्टाभन्दा बढी ढिलो गरे यात्रुलाई क्षतिपूर्ति दिनुपर्ने बाध्यता हुन्छ ।
२. वैशाख २ गते साँझ ५ः३० बजे भैरहवाबाट काठमाडौंतर्फ उडानको टिकट थियो । त्यसनिम्ति अर्खाको ठूलाचौरबाट १२ः२५ बजे बीच कार्यक्रमबाटै बिदावारी भएर हामी भैरहवातर्फ लागेका थियौ । त्यहाँबाट भालुबाङ घुम्दा प्लेन छुट्नसक्ने हुँदा निर्धारित रूटसमेत परिवर्तन गरी अग्लुङ(बाझकटेरी( म्यालपोखरी(पुर्कोटदह- सौतामारे- रतनमारे- सन्धिखर्क- गोरूसिंगे- लुम्बिनी हुँदै ६ः१५ बजे उहाँको टोली भैरहवा एयरपोर्ट पुगेको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य यस यात्रामा सँगसगै हुनुन्थ्यो ।
भैरहवा एयरपोर्टमा पुगुञ्जेल काठमाडौंको खराब मौसमका कारण मेरो टिकट रहेको यति एयरको भैरहवा उडान नहुने घोषणा भइसकेको थियो । बुद्ध एयरको उडान पनि नहुने भनिए पनि घोषणाचाहि गरिएको थिएन ।
३.काठमाडौंबाट जहाज उडान नहुने अवस्थामा भैरहवामा होटल खोज्नु अनिवार्य हुन्थ्यो । त्यसकारण संचारमन्त्रीको टोली सिडिओ कार्यालयसँग पूर्ण समन्वय गरी टिकुलीगडस्थित होटलमा पुगेर कोठा बुक गर्न लाग्यो । तर, कोठामा नपुग्दै बुद्ध एयरको जहाज आउने र उडान गर्ने भएको खबर आयो । अनि, हतारहतार लबीबाटै टोली एयरपोर्टतर्फ लागिहालेको थियो । तर २ किमी नजिकै पुगेको अवस्थामा जहाज काठमाडौतर्फ उड्यो भन्ने जानकारी प्रशासनमार्फत आयो । अनि उहाँ पुनः होटलतर्फ लाग्नुभएको थियो ।
४.यस्तो नियतिका निम्ति गुल्मीको पुर्कोटदहदेखि सम्पर्क र समन्वय गर्दै कच्ची बाटो जहाज भेट्न हतारहतार गरी सौतामारे रतनमारेमा स्वागत गर्न पर्खेका शुभेच्छुक र नेताकार्यकर्तासॅग हातसमेत नमिलाई भैरहवातर्फ दौडिने जरूरी किन पर्दथ्यो ? अर्घाखाँचीको सन्धिखर्कमा पत्रकार भेटघाट निम्ति जुटेका संचारकर्मी र पार्टी नेताकार्यकर्तासॅग राम्ररी बोल्नसमेत समय भएन । चाक्ला आइपुग्दा ४५ मिनेट ढिलो उडान हुने भएको खबरका बाबजुद दालमोठ, बिस्कुट र पानी खाँदै टोली दौडिएको त जहाज भेट्न नै त थियो
५. मन्त्रीले जहाज रोकेर पर्खन भनेको वा दबाब दिएको हुदै होइन । किन काठमाडौँबाट जहाज उड्नासाथ समयमै खबर नगरेको भन्ने चासो र सरोकार अवश्य देखाउनु भएको छ । भोलिपल्ट बिहान बुद्ध एयरको भैरहवा स्टेसन प्रमुखलाई नागरिक उड्डयन कार्यालय प्रमुखकै उपस्थितिमा स्वयं संचारमन्त्रीले समयमा किन सूचना नगरेको भनी सोध्दा प्रहरीको सईले मन्त्रीज्यूको टोली होटलमा गइसकेको र भोलि जाने भनेको भनी सफेद झूठ बोलेको देख्दा झनै आश्चार्य लाग्यो । त्यहाँ उनी नाजवाफ र लज्जित भएर आशिष्टतापूर्वक बीचमै उठेर हिडेको त म स्वयंले देखेको हुँ । यस्तो यथार्थलाई ढाकछोप गर्न ६८ जना यात्रुको हितमा संचारमन्त्रीलाई ३०ः३५ मिनेट नकुरेको भनी १०० प्रतिशत झूठो वक्तव्यबाजी गर्नु त दिउँसै रात पार्न खोजेकोजस्तो मात्र हो । यो बुद्ध एयरको गैरव्यवसायिक व्यवहार र जवाफदेही हुन नखोज्ने मनोमानीपूर्ण रवैयाको पराकाष्टा मात्र हो ।
६. बुद्ध एयरले राती ८ः०० बजेपछि उडान गरेको थियो । सरकारका जिम्मेवार मन्त्रीलाई यस्तो व्यवहार गरेकोमा अझ बकवासपूर्ण वक्तव्य निकालेर आफैले ठीक गरेको भनेजस्तो गरी उल्टै सारा तथ्य र यथार्थमा पर्दा हाल्ने चेष्टा गरेको देखिँदा यो कतै नियोजित दुर्व्यवहार पो थियो कि भनेर शंका गर्नुपर्ने अवस्था सिर्जना भयो ।
७. म बुद्ध एयरले गरेको प्रगतिको खूलेआम नै प्रशंसक हुँ । तर यसअघि ४ः४ घण्टासम्म पूर्वप्रधानमन्त्री र प्रदेश ५ का मुख्यमन्त्रीले काठमाडौं एयरपोर्टमा पर्खनु परेकोमा श्री बीरेन्द्रबहादुर बस्नेतजीलाई पहिलो खुलापत्र लेखी प्रविधिको पछिल्लो विकासको सदुपयोग गरेर लाभ उठाउन तथा नयाँ प्रबन्ध गर्न ध्यानाकर्षण गराएको थिएँ । तर त्यसको कुनै सुनुवाई भएन । २ गते भैरहवामा मन्त्री र ४ गते सुर्खेतमा अमेरिकी राजदूतलाई बुद्ध एयरले जुन व्यवहार गरेको छ, यो नियोजित र निन्दनीय छ । यसको छानविन गरी दोषीमाथि कारबाही गरिनुपर्छ । अन्यथा यो मनोमानी र अराजकता अझै बढ्न जानें निश्चित छ । हवाई क्षेत्र संवेदनशील सेवा व्यवसाय हो भनेर यसका संचालनकर्ताहरू बढी जवाफदेही हुनैपर्छ ।
८. मन्त्रीलाई भैरहवामा छाडेर हिड्ने बुद्ध एयरको व्यवस्थापनले भोलिपल्ट १ सिट मात्रै दिनसक्ने भनी अर्को आश्चर्यजनक रवैया देखायो । जबकि अघिल्लो दिन आफैले छाडेका यात्रु पहिलो प्राथमिकतामा लिनुपर्ने थियो । फलस्वरूप उहाँको टोली सौर्यं एयरको जहाजबाट ११ः०० बजे मात्र काठमाडौं फर्किनु भयो ।
यस तथ्यको हेक्का राखेर जथाभावी सोसल र अन्य मिडियाले परपीडक व्यवहार नगरेकै उचित हुन्छ । यो मन्त्रीको पक्ष वा विपक्षमा उभिने बिषय होइन र खुच्चिङ गर्नुपर्ने कुनै आवश्यकता पनि छैन । उहाँले आफ्नोभन्दा काठमाडौँ(भैैरहवा(काठमाडौं उडानमा आफूले जस्तो अरू कसैले भोग्न नपरोस् भनेर नै सार्वजनिक जिम्मेवारीअनुरुप तथ्य प्रस्तुत गरी सबैलाई जानकारी गराउनु भएको मात्र हो । बुद्ध एयरले माफी मागेर भविष्यमा यस्तो गल्ती नगर्नेसम्म नभनी प्रदर्शन गरेको दादागिरीशैलीको भर्त्सना गर्नैपर्छ । यसखाले यथार्थप्रति आखा चिम्लेर बुद्ध एयरको बदमासीलाई सही गरेको भनी दलाली गरेर रुवाबासी गर्ने र रोइलो मच्चाउनेहरुलाई रामराम मात्र भन्न सकिन्छ ।

 

मन्त्री बास्कोटालाई भन्दा ६८ सर्बसाधारण यात्रुलाई महत्व दिएर पर्खेनौः बुद्ध एयर