खेलकुद

ब्याडमिन्टनः रत्न, दीपेश र प्रिन्स विजयी

घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ४०औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, सशस्त्र प्रहरीको एपिएफ क्लबका दिपेश धामी तथा सुदूरपश्चिम प्रदेशका प्रिन्स दाहालले अन्तिम आठमा स्थान बनाएका छन् ।

तामाङले एपिएफका गौतम कठायतलाई २१–७ र २१–९ को सोझो सेटमा पराजित गरे । एपिएफ क्लबका धामीले सुदूरपश्चिमका देवराज शर्मालाई २१–१३ र २१–१२ को सोझो सेटमा हराए । सुदूरपश्चिमका दाहालले पुलिस क्लबका विष्णु कटुवाललाई २३–२१, २१–१० र २१–१० अङ्कले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरे । यस्तै आर्मीका नविन श्रेष्ठ र प्रफुल्ल महर्जन पनि क्वाटरफाइनल प्रवेश गरेका छन् । नविनले एपिएफका विजित थापा मगरलाई २२–२० र २१–८ अङ्कले तथा प्रफुल्लले एपिएफकै साजनकृष्ण ताम्राकारलाई १३–२१, २१– १८ र २१–१२ अङ्कले पराजित गरे ।

यसैगरी पुलिस क्लबका जीवन आचार्य र दीपक बोहरा तथा प्रदेश १ का विकास श्रेष्ठ पनि क्वाटरफाइनल प्रवेश गरेका छन् । जीवनले आर्मीका विशाल खड्कालाई २१–१० र २१–१४अङ्कले, बोहराले आर्मीका रुकेश महर्जनलाई १४–२१, २१–१७ र २१–१५ अङ्कले तथा विकासले पुलिस क्लबका सुनिल जोशीलाई २१–११ र २१–११ अङ्कले पराजित गरे । घोराहीस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ त्रिभुव आर्मीका नङशलदेवी तामाङ, रशिला महर्जन, रञ्जना भट्ट र अनुमाया राई क्वाटरफाइनल प्रवेश गरेका छन् । तामाङले प्रदेश ५ की सम्झना शर्मालाई २१–६ र २१–१२ ले, महर्जनले सेनाकै लोक्तमा राईलाई २१–६ र २१–७ ले, भट्टले एपिएफकी सुनैना मुखियालाई २१–१७ र २१–११ ले तथा राईले सुदूरपश्चिमकी प्रशुना खत्रीलाई २१–३ र २१–९ अङ्कले हराए ।

यस्तै एपिएफकी जेशिका गुरुङ र शोभा गौचन तथा प्रदेश १ की सिता राई र सिमा राजवंशी अन्तिम आठमा स्थान बनाउन सफल भए । जेशिकाले कर्णाली प्रदेशकी अग्रीमा भण्डारीलाई २१–१ र २१–१३ ले, शोभाले प्रदेश १ की निता लम्साललाई २१–१९ र २१–५ ले, प्रदेश १ की सीताले प्रदेश ३ की सफी खत्रीलाई २१–८ र २१–१३ ले तथा सिमाले गण्डकीकी पुनम गुरुङलाई २१–१८ र २१–१५ अङ्कले हराए ।

ब्याडमिन्टन खेलाडीलाई पितृशोक

ब्याडमिन्टन खेलाडी इरफान अन्सारीलाई पितृशोक परेको छ । प्रदेश नं ५ बाट सहभागी अन्सारीका पिता नेपालगञ्ज रामबाग निवासी मोहम्मद अहमद अन्सारीको गएराति निधन भएको थियो । पिताको निधनपछि इरफान आफ्नो खेल स्थगित गरी नेपालगञ्ज फर्किएको ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले जानकारी दिए । सत्तरी वर्षीय अन्सारी लामो समयदेखि दम रोगबाट पीडित थिए ।