समाचार

लोकतन्त्र कमजोर बनाउने बाटोमा देखियो ओली सरकार : उपसभापति गच्छदार

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान सरकारको लोकतन्त्रलाई कमजोर गर्ने बाटोमा हिँडिरहेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग उनले सरकारले संसदीय पद्धति र त्यसको मूल्य र मान्यतालाई कमजोर बनाएको र स्वतन्त्र न्यायालयमा हस्तक्षेप गरेको आरोप लगाए।

उपसभापति गच्छदारले काङ्ग्रेसले जनजागरण अभियान सरकारले गरेका गलत क्रियाकलापको जनतालाई सुसूचित गराउने उद्देश्यले गरेको बताउँदै यस कार्यमा अन्य पार्टीको सहयोग र सहभागिता हुने जानकारी दिए । उनले मुलकको अर्थतन्त्रलाई धरासायी हुने बाटोतर्फ गइरहेको भन्दै बबई सिँचाइ योजना २० वर्ष अगाडि नेपाली काङ्ग्रेसको निर्माण कार्य शुरु भएको बताए ।

उनले जनताको हितमा गरिने प्रत्येक कार्यमा प्रतिपक्ष दलको हैसियतले सहयोग गर्ने बताउँदै विकास निर्माण कार्यमा नेकाँ हातेमालो गर्नेगरी हिँड्ने छ भने । उपसभापति गच्छदारले काङ्ग्रेसभित्र रहेको अन्तरद्वन्द्व समाधान सहमतिबाट भइरहेको जानकारी दिँदै प्रमुख नेताहरुले निर्वाचन, अनुशासन समिति सहमतिबाट नै गठन भएको जानकारी दिए ।