राजनीति

ओली सरकारले पत्रकारितामाथि हस्तक्षेप गरेर निरङ्कुशता लाद्न खोज्योः सभापति देउवा

धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाल मगर सङ्घको आज यहाँ शुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले पार्टीको संशोधित विधानअनुसार मगरलगायत सबै वर्ग र समुदायको उचित प्रतिनिधित्व गराउने गरी काङ्ग्रेस पार्टी अगाडि बढ्न लागेको बताए ।

प्रेस जगतमाथिको आक्रमण लोकतान्त्रिक व्यवस्थामाथिको आक्रमण भएको उल्लेख गर्दै देउवाले प्रेसमाथिको आक्रमण काङ्ग्रेसलाई सह्य नहुने उल्लेख गरे। उनले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पत्रकारितामाथि हस्तक्षेप गरेर निरङ्कुशता लाद्न खोजिरहेको आरोप लगाए । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान सरकार आफ्नै गतिविधिका कारणले जनताका नजरमा असफल भइसकेको दाबी गरे । कार्यक्रममा काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले कार्यकर्तामा जागरण ल्याउनुपर्नेमा जोड दिए । दुईदिने सो प्रशिक्षणमा २०० प्रतिनिधि सहभागी रहेका छन् ।