समाचार

समयमै काम नसक्ने ठेकेदारलाई कारवाही

डोटी । तोकिएको मितिमा काम नसक्ने यहाँका मोटर चल्ने पुल निर्माणको जिम्मा पाएका ठेकेदारलाई कारवाही हुने भएको छ । निर्माण शुरु गरेको वर्षौ बितिसक्दा समेत मोटर चल्ने पुल निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्न सडक डिभिजन कार्यालय दिपायल कुल्पातेले पहल गरेको छ । जिल्लामा मोटर पुल निर्माणको ठेक्का पाएर वर्षौ बिति सक्दासमेत काम सम्पन्न नगर्ने ठेकेदारलाई कार्यालयमा झिकाइ किन काम सकिएन भन्ने विषयमा जानकारी लिनका लागि यहाँको सडक डिभिजन कार्यालयले पत्राचारसमेत गर्न थालेको छ ।

जिल्लामा दजर्नौँ मोटर चल्ने पुल लामो समयदेखि निर्माण सम्पन्न नहुँदा लथालिङ्ग अवस्थामा छन् । ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माणको काम सम्पन्न नभएको गुनासा बढेपछि सडक डिभिजन कार्यालयले कानूनी बाटो खोज्न थालेको छ । ठेकेदार कम्पनीले विभिन्न बहाना देखाई पुल निर्माणको कार्यमा ढिलाइ गर्ने गरेको डिभिजन सडक कार्यालय दिपायल कुल्पातेले जनाएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७१ असार २९ गते सम्झौता भएको शिखर नगरपालिकामा रहेको सातनाली सडकको पक्की पुलको हालसम्म १० प्रतिशत मात्रै काम भएको स्थानियवासी बताउँछन् ।

पहिलो पटक भएको तीनवर्षे सम्झौता विसं २०७४ असार २९ गते सकिए पनि पुनः अर्को सम्झौता भएको म्याद सकिँदा समेत पुल निर्माणको काम सम्पन्न हुन नसकेको नगरपालिकाका बासिन्दा प्रेमबहादुर बलायरले बताए । उनले भने, “ठेकेदार कम्पनी म्याद थपेको थप्यै छ, काम कहिले पूरा हुँदैन ।” मूल्य अभिवृद्धि कर९भ्याट०सहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब ४०० मिटर लम्बाइको उक्त आरसिसी पुल सडक डिभिजन कार्यालयले पुष्प÷राजेन्द्र जेभी निर्माण कम्पनीसँग विसं २०७१ असार २९ गते सम्झौता गरी निर्माण शुरु गराएको थियो ।

पुल निर्माण हुने समयावधि समाप्त भई पुनः म्याद थपिँदा समेत पुलका दायाँबाँया पिलरसमेत बनेका छैनन् । उक्त पुल निर्माण शुरु भएपछि आफूहरु पनि सडक सञ्जालमा जोडिने आश लिएर बसेका तल्ली सातका बासिन्दा प निराश हुन थालेका छन् । सेती नदीमा निर्माण हुने उक्त पुल अझै निर्माण हुन नसक्दा शिखर नगरपालिका–११ सडक सञ्जालमा जोडिन सकेको छैन । पुल निर्माणमा ढिलाइ हुनाको मुख्य कारण निर्माण व्यवसायीको लापरवाही भएको पुल हेर्ने सडक कार्यालयका कर्मचारी बताउँछन् । उनीहरुका अनुसार पुल निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुराको पर्शुराम नगरपालिकाका नगरप्रमुख भई उहाँले काम हेर्ने जिम्मा अरुलाई नै दिएपछि पुल निर्माणको काममा ढिलाइ भएको हो ।

दुई वर्षमा बनेर सडक सञ्चालनमा आउनुपर्ने जिल्लाको अर्को पुल पनि ६ वर्ष बितिसक्दा समेत सञ्चालनमा आएको छैन । जोरायल गाउँपालिकाको कुम्रेली गाड ९नदी० मा निर्माणाधीन पुल सडक कार्यालय र एसबिए÷चन्द्र एण्ड वसन्त र आइएस जेभी निर्माण कम्पनीले विसं २०६८ असार २३ गते पहिलो सम्झौता गरी काम शुरु भएको थियो । कूल लागत रु दुई करोड ५८ लाख ७२ हजार ९१७ मा निर्माण भइरहेको उक्त पुल निर्माणको समय विसं २०७० साउन ४ गतेसम्म मात्र थियो । करीब ५० मिटर लम्बाइ रहेको उक्त पुल निर्माण सम्झौता तेस्रो पटकसम्म थप भइसक्दा समेत अझै निर्माण पूरा हुन सकेको छैन । ठेकेदारको लापरवाहीले योजना समयमा सम्पन्न हुन नसकेको सडक डिभिजनका इञ्जिनीयर महानन्द जोशीले बताए । निर्माण कम्पनीले योजना सम्पन्न गर्नुपर्ने र ढिलो भएमा हर्जना पनि तिर्नुपर्ने बताउँदै उनले पुल सम्पन्न नगरेरै छाडे कम्पनीलाई कालो सूचीमा राखिने योजना भइरहेको जानकारी दिए ।” तेस्रो पटक विसं २०७२ माघ २९ गतेदेखि २०७३ भदौ १४ गतेसम्मका लागि पुल निर्माणको सम्झौताको म्याद थप गरिएको थियो । निर्माण अझै बाँकी रहे पनि विसं २०७३ भदौ १४ गतेदेखि भने हालसम्म सम्झौताको म्याद थप नगरिएको डिभिजन कार्यालयले जनाएको छ । उक्त पुल हालसम्म पनि निर्माण नहुँदा स्थानीयवासी तथा विद्यार्थीले नदी तर्न नसकी समस्या हुने गरेको स्थानियवासी बताउँछन् ।

सवारी साधनको चरम दुरुपयोग
स्थानीय तहका सरकारी सवारी साधनको चरम दुरुपयोग हुँदै आएको छ । यहाँका विभिन्न गाउँपालिकाले खरीद गरेका मोटरसाइकललगायत अन्य गाडी पछिल्लो समय बढी दुरुपयोग हुन थालेका हुन् । जिल्लाका कुल दुई नगरपालिका तथा सात स्थानीय तह सबैले आआफ्ना सवारी साधन किनेका छन् । नगरपालिका तथा गाउँपालिकाका वडा कार्यालयले किनेका अधिकांश सवारी साधन सम्बन्धित व्यक्तिले प्रयोग नगरी गैर कर्मचारीले बढी प्रयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताए । “अधिकांश वडा कार्यालयका बाइकहरु गैर कर्मचारीले चलाउने गरेकाछन्”,उनले भने, “कारवाही गर्न खोजेपछि नेताहरु फोन गर्छन् र छुटाउँछन्, हामीलाई हैरान बनाइसके ।”

स्थानीय तहका कार्यालयका गाडी तथा मोटरसाइकल जनप्रतिनिधिका भाइ, भतिजा, छोरा तथा नातेदारले निजी सामानजस्तै गरी चलाउँदै आएका छन् । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल गाउँपालिकाका विभिन्न वडा कार्यालयका गाडी सबैभन्दा बढी दुरुपयोग हुने गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

त्यस्तै नगर विकास कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला समन्वय समितिका मोटरसाइकल पनि लामो समयदेखि गैरकर्मचारीले चलाउँदै आएको बताइएको छ । स्थानीय तहका गाडी चरम दुरुपयोग भएको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नदेखाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक ट्राफिक प्रहरीले गुनासो गरे । उनले भने, “सरकारी नम्बरका गाडी, बाइक दुपयोग भएका बारे पटक पटक सम्बन्धित कार्यालयमा खबर गर्दा समेत कसैले वास्ता गर्दैनन्, अब हामीले पनि भन्न छाड्यौँ ।”
प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले ‘अनधिकृत व्यक्तिले सरकारी गाडी चलाएको पाइए तत्काल कानूनी कारवाही गर्नू’ भनेर ट्राफिक प्रहरीलाई निर्देशन दिइएको बताए ।

उनले भने, “बिदाको दिन विनापास र अन्य दिन गैरव्यक्तिले सरकारी सवारी साधन चलाएको पाइए कारवाही गर्नू भनेको छु, कसैले अटेर गर्न खोजे मुद्दा चलाइने छ ।” यहाँका सरकारी सवारी साधनहरु बिदाको दिनमा पनि वनभोज, भोजभतेर तथा जन्ती जाँदा समेत प्रयोग हुने गरेको पाइएको छ । सरकारी सवारी साधन गैर कर्मचारीले प्रयोग गर्न थालेपछि यहाँका बासिन्दा पनि आक्रोशिकत हुन थालेका छन् । यहाँका स्थानीय तहका कतिपयले सवारी साधन कार्यालयमा जानकारी नै नदिएर किनेदेखि नै आफ्नै घरमा राखेर चलाउँदै आएको स्थानीयवासी बताउँछन् । यसरी घरैमा राखेर चलाउँदै आएका सवारी साधनमा इन्धन भने सम्बन्धित कार्यालयको कुपनका आधारमा हालिने गरेको पनि बताइएको छ ।