समाचार

मिठाई पसलको अनुचित क्रियाकलाप गरिरहेको तथ्य सार्वजनिक

जनकपुरधाम । जनकपुरधामको एक लोकप्रिय मिठाई पसलले अनुचित व्यापारिक क्रियाकलाप गरिरहेको तथ्य सार्वनिक भएको छ । जनकपुरधामको जानकी मन्दिर नजीक रहेको हंसराज मिठाई पसलले अनुचित व्यपारिक क्रियाकलाप गरिरहेको तथ्य सार्वजनिक भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोग, उपभोक्ता हित संरक्षण मञ्च, जनकपुरधाम उपनगरपालिका प्रमुख, प्रजिअ र संयुक्त बजार अनुगमन समितिका पदाधिकारी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिले उक्त मिठाई पसलको गोदामको अनुगमन गर्दा सो तथ्य खुलेको छ । सो पसलको जनकपुरधाम उपमहानगरपालिका–६ स्थित गोदाममा अनुगमन गर्दा बिक्री हुन नसकेको लड्डुलाई सुकाई ड्रममा राखेको पाइएको छ । सुकाइएको लड्डुलाई पुनः बिक्री हुने गरी बनाई व्यवसाय गर्न गरेको अनुमान गरिएको छ ।

त्यस्तै हाइड्रो, सेफोलाइट, फिट्किरी लगायतका अखाद्य सामग्री पनि पाइएको जनाइएको छ । धनुषाका प्रजिअ प्रदीपराज कडेँलले हंसराज पसलले काठमाडौँको गुँदपाक प्रकरणलाई स्मरण गराएको बताउँदै पसलका मालिकमाथि उपभोक्ता संरक्षण ऐनअनुसार कानूनी प्रक्रिया अगाडि बढाउन सुझाव दिएको छु भने ।

आयोगका सदस्य मोहना अन्सारीले हंसराज पसलको कारखानामा राखिएको अधिकांश सामग्री अखाद्य पाइएको बताए । कारखानाको कलबाट कालो पानी आउने गरेको, इमली सडेको, रङको म्याद समाप्त भइसकेको, नेपालमा प्रतिबन्धित दुग्ध प्रयोग भइरहेको, काम गर्नेले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिई सामग्री बनाइराखेको, कारखाना धुँवाले कालो भएको, बालश्रमिकको प्रयोग गरिएको र मिठाई खुला राखिएको पाइएको बताइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले पसलका अखाद्य सामग्रीलाई नियन्त्रणमा लिई जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाइएको जानकारी दिए ।