बाग्मती

विकासका लागी सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एउटै मञ्चमा बसेर नागरिकसँग योजना माग गर्नुपर्छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विगत वर्षमा योजना बनाइएकाले आगामी आर्थिक वर्षदेखि नागरिकको चाहनालाई विकासको कार्यसूची बनाएर अघि बढ्ने बताएका छन । कामपा वडा नम्बर १४ को वडा कार्यालय भवन शिलान्यास गर्दै उनले चुनावका समयमा जनतासामु गरिएको विकासको योजनाले अब विस्तारै निकास पाउने जिकिर गरे ।

बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको करीब आठ आना जग्गामा भवन निर्माण गर्न पिआर बाबुरत्न जेभीले रु चार करोड ३४ लाख ३३ हजार ६९२ मा जिम्मा पाएको छ । एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी आजैदेखि निर्माण शुरु गरिएको छ । भवनको भुइँ तलामा ३० मोटरसाइकल अट्ने ठाउँ हुनेछ । साढे चार तलामा बन्ने भवनको कूल क्षेत्रफल ११ हजार ८२ दशमलब ८ वर्गफिट रहनेछ । आधुनिक निर्माण सामग्री प्रयोग गरिए पनि परम्परागत रुपमा भवन निर्माण हुने बताइएको छ । निर्माण सम्पन्न भइसकेपछि वडा क्लिनिक पनि यहीँबाट सञ्चालन गरिने वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिए ।

हाल जनप्रतिनिधि र कर्मचारी एउटै कोठामा बस्नुपर्ने अवस्था छ । नागरिकलाई एकछिन आराम गराउन पनि नसकिएको बताउँदै वडाध्यक्ष सापकोटाले अब निर्माण हुने भवन सुविधासम्पन्न हुने बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले काठमाडौँ  विकासमा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एउटै मञ्चमा बसेर नागरिकसँग योजना माग गर्नुपर्ने बताए ।

बत्तीस वडा रहेको कामपाले पछिल्लो समय वडा कार्यालय भवन निर्माण गर्न लागिरहेको छ । वडा १४ सँगै वडा ४, ७, ९ र २६ मा पनि भवन निर्माणको काम भइरहेको छ । भूकम्पअघि पनि केही भवन भाडामा लिएर काम गरिरहेको कामपाले भूकम्पपछि २० भन्दा बढी वडा कार्यालय भाडामा नै लिएर नागरिकको सेवा गरिरहेको छ ।

कामपा केन्द्रीय कार्यालय भने भवन निर्माण गर्ने विषयमा अन्योलमा परेको छ । तेह्र विभाग रहेको कामपाले विभिन्न सात स्थानबाट नागरिकलाई सेवा दिइरहेको छ । यसरी फरक फरक स्थानबाट सेवा प्रवाह हुँदा नागरिक मर्कामा पर्नाका साथै काममा प्रभावकारिता देखिएको छैन । केन्द्रीय कार्यालय निर्माण गर्ने भनिएको भूकम्पअघि कार्यालय रहेको हरिहर भवनमा तत्काल अर्को भवन निर्माण गर्न नपाइने भएको छ ।