लुम्बिनी

छाडा पशुचौपाया नियन्त्रण गर्न गौशाला निर्माण

बेझाड । पाल्पाको रामपुरमा छाडा पशुचौपायाले सताउन थालेपछि नियन्त्रणका लागि गौशाला निर्माण कार्य भइरहेको छ । छाडा रुपमा गाउँघरमा किसानका खेतबारीमा पुगेर पशुचौपायाले बालीनाली नष्ट पार्न थालेपछि रामपुर नगरपालिकाले गौशाला निर्माण कार्य अगाडि बढाएको हो ।

नगरपालिका–६ स्थित तातोपानीघाट नजिकै रु ५० लाखको लागत अनुमानमा गौशाला निर्माण भइरहेको नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेले बताए । “रु ५० लाखको लागत अनुमान भए पनि सबै काम सम्पन्न गर्न रु ७० लाख जति आवश्यक पर्छ, थप रकम नगरपालिका र वडा कार्यालयबाट जुटाएर भए पनि सुविधा सम्पन्न गौशाला निर्माण गर्ने कार्यमा जुटेका छौँ” उनले भने ।

छाडा गाई तथा पशुचौपायाले सताउन थालेको किसानको गुनासो सम्बन्धित वडा कार्यालय र नगरपालिका कार्यालयमा दिनहुँ पुगेपछि व्यवस्थापनका लागि गौशाला निर्माणमा जोड दिइएको उनले बताए । करीब १५ रोपनी क्षेत्रफलमा नगरपालिकाले गौशाला निर्माणमा रु २० लाख रकम विनियोजन गरेको छ । अहिले निर्माण कार्य तीव्ररुपमा अगाडि बढिरहेको भवन निर्माण समितिका संयोजक ओमप्रकाश रेग्मीले बताए ।

“दुई सय ५० गाई अट्ने क्षमताको सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ, अहिले चारैतिर घेराबार गर्ने काम सम्पन्न भएको छ” उनले भने । गौशाला निर्माणको काम करीब ६० प्रतिशत सम्पन्न भएको छ । गौशाला निर्माण कार्य हुन थालेपछि रामपुरका किसान खुसी भएका छन् । यत्रतत्र छरिएर दिनहुँ समूहमा १०/१५ वटा छाडा गाई, बाच्छाहरु किसानको खेतबारीमा पसेर एकै पटक बालिनाली सखापै पार्न थालेपछि किसानले निकै सास्ती भोगिरहेका छन् ।

उत्पादन लिने बेला भएका तरकारी, अन्नबाली छाडा पशुचौपायाले खाएर लगानी उठाउनै नसकिएको कृषक गङ्गा बस्यालले बताए “निगरानी गरिरहन परेको छ, एकैचोटी ठूलो समूहमा आएर सखापै पार्छन् कि भन्ने चिन्ताले किसानलाई सताइरहेको छ” उनले भने

घरमा पालिएका गाई उत्पादन दिन छाडेपछि पालन पोषणको झण्झटले किसानले घरबाट निकालेर अन्यत्र लगेर छाड्ने गरेकाले हिजोआज नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाको आतङ्क बढ्दो छ । पटकपटक सम्बन्धित वडा कार्यालयमा छाडा पशुचौपाया नै डोर्याएर व्यवस्थापनका लागि पनि किसान पुगेका थिए । अब भने गौशाला निर्माण हुन थालेपछि केही समयपछि छाडा पशुचौपायाको व्यवस्थापन हुनेमा किसान ढुक्क छन् ।