आर्थिक

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी बीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसंग सहकार्य गर्न आजमिति २०७६।०१।०४ गते सम्झौता भएको छ । सो सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष श्री भरत राज ढकालले हस्ताक्षर गरेका छन ।

मुक्तिनाथ विकास बैंकले विगत १२ वर्षदेखि ग्रामीण भेगहरुमा समेत सबै वर्गका नागरिकहरुलाई समावेशी वित्तीय सेवाहरु प्रदानगर्दै आईरहेकोमा कृषि पेशामा निर्भर किसानहरुलाई वित्तीय सेवाका अतिरिक्त कृषि सम्बन्धी व्यवस्थापन गर्न आवश्यक देखिएकोले कम्पनीसंग सहकार्य गरिएको हो । मुक्तिनाथ कृषिकम्पनी कृषिलाई मुख्य पेशाको रुपमा अंगालेका कृषकहरुलाई प्रत्यक्ष तथा कृषि सहकारीहरु मार्फत पनि गैर वित्तीय सेवाहरु जस्तैः बीउ विजन, मल, उपकरण, औजार, प्रविधि तथा क्षमता विकास र बजारिकरण समेतका सेवाहरु प्रदानगर्ने उद्देश्य सहित रु. ४० करोड जारी पूँजीमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो ।

यस सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहक सदस्यहरुलाई कृषिमा आधारित उद्यम÷व्यवसाय गर्न आवश्यक पर्ने मल, बीउ, विजन, उपकरण र प्राविधिक ज्ञान समेत प्रदान गरी ग्राहक सदस्यहरुबाट उत्पादित कृषि उत्पादनहरुलाई बजारको ग्यारेन्टी गर्ने कार्य मुक्तिनाथ कृषि कम्पनीले गर्नेछ । किसानहरुको यस कम्पनीसंगको सहकार्यले किसानहरुले हालभोगेका कृषिउपजको बजारिकरण सम्बन्धी समस्याहरुको दिगो समाधान हुने र उत्पादनको उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

भविष्यमा कम्पनीले कृषि सम्बन्धी अन्य आवश्यक विविध प्रकारका कार्यहरु विस्तार गर्दै जाने सुचना अधिकारी तिलबहादुर गुरुङ्गले विज्ञप्ती मार्फत जनाएका छन् ।