समाचार

नेपालाई विद्वानहरुको देश बनाउने अभियानमा सरकार लागेको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् । विद्यालय भर्ना अभियानका सन्दर्भमा आज बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्र्थीहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
“नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।”
प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताएका छन् । “शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउछन् ।”

प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशिल र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको स्पष्ट पारेका छन् । “अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्” प्रधानमन्त्री ओलीले भने “अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।”
गतबर्ष देखि बिशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरेका छन् । “विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ । यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ । यसबर्ष देखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुदैन” प्रधानमन्त्री ओलीले भने ।
अन्तरक्रियालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गीरीराजमणी पोख्रेलले सहजिकरण गरेका थिए ।