प्रदेश 1

वंशजको नागरिकता दिन अदालतले फैसला गरेपछि नागरिकता लिनेको घुइँचो

भद्रपुर । जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका आमा र बाबुका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्च अदालतले मङ्गलबार फैसला गरेपछि आज नागरिकता लिन झापाको जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि घुइँचो लागेको छ ।

झापा जिल्ला प्रशासन कार्यालयको मूलगेट खुल्नु अगावै बिहान ८ बजेदेखि बाहिर सेवाग्राही लामबद्ध भएका छन् । विसं २०६३ मा जन्मको आधारमा नेपाली नागरिकता पाएका आमा र बुबाको सन्तानले लामो अवधिसम्म नागरिकता पाउन सकेका थिएनन् । तर गृह मन्त्रालयले गत चैत १९ गते सबै जिल्ला प्रशासन कार्यालयलाई वंशजको आधारमा नागरिकता वितरण गर्नु भनी परिपत्र गरेको थियो ।

तीन दिनसम्म नागरिकता वितरण भएलगत्तै गृहको परिपत्र विरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले सो प्रकृतिका नागरिकता वितरण नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले मङ्गलबार सोही विषयमा अर्को आदेश जारी गरी गृह मन्त्रालयको परिपत्र बमोजिम नै नागरिकता दिन मिल्ने आदेश गरेको हो । झापा जिल्लामा चैत १९ गते यता ६०० बढीले वंशजको नागरिकता पाइसकेका छन् । झापामा विसं २०६३ मा २२ हजारले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । तिनका सन्तानले वंशजको आधारमा अब नागरिकता पाउने भएका छन् ।

झापा गाउँपालिका–२ का सरोज मेहराले ५० किलोमिटर टाढाबाट धाएर वंशजको आधारमा नागरिकता लिन प्रशासनको गेटबाहिर बिहानैदेखि लाइनमा बसेको बताए । उनले नागरिकता वितरण फुकुवा भएको खबर सुनेर आएको बताए । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सर्वोच्च अदालतले सदर गरिसकेको हुँदा गृहमन्त्रालयको परिपत्र बमोजिम आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता आजदेखि वितरण गर्न थालिएको बताए ।