प्रदेश 2

संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार जलमग्न

गौशाला । गएराति आएको हावाहुरीका साथै असिना पानीका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार जलमग्न बनेको छ ।

गएराति करीब डेढ घण्टासम्म चलेको हावाहुरी भीषण रुपमा परेको मुसलाधारे पानी र असिनाका कारण कारागार आज जलमग्न बनेको निमित्त जेलर प्रदीपकुमार साहले बताए । करीब १६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार जलमग्न बन्ने गरेको निमित्त जेलर साहले बताए ।

वर्षाको पानीले कारागारको बाहिर मूलद्वारभित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पनि पानी भरेको छ । त्यसैगरी कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानीभित्र प्रवेश गरेर पूरै कारागार अस्तव्यस्त भएको चौकीदार (मूल कैदी) श्रीनारायण महतोले बताए। चार सय ६३ जना कैदीबन्दी रहेको जलेश्वर कारागारमा वर्षा र बाहिरी नालाबाट आएको पानीले गर्दा भित्रका कैदीबन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, घुमफिर गर्नेलगायतका विभिन्न समस्या भएको चौकीदार महतोले बताए ।

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी बस्ने ब्यारेकसमेत असिना पानीले प्रभावित बनेको जनाइएको छ । पटक/पटक पानी परेको बेला बाहिरी शहरको पानी समेत नाला भएर कारागारमा प्रवेश गर्दा हुने गरेको समस्याबारे जलेश्वर नगरपालिकालाई पटक/पटक लिखित पत्राचार गर्दा पनि कुनै सुनुवाइ नगरेकाले झन बढी समस्या हुने गरेको निमित्त जेलर साहले बताए ।