प्रदेश 1

चुँडाललाई ‘उत्कृष्ट नागरिक’ सम्मान

भद्रपुर । चन्द्रगढी विमानस्थल कार्यालयका प्रमुख पूर्ण चुडाललाई २०७५ सालको ‘उत्कृष्ट नागरिक’ सम्मान प्रदान गरिने भएको छ । वीरता जेसीजका पूर्वअध्यक्षहरुले विसं २०५२ मा स्थापना गरेको उक्त सम्मान हरेक वर्ष एउटा विधामा विशिष्ट सामाजिक योगदान पुर्‍याएका झापाका प्रतिभाशाली व्यक्तिलाई प्रदान गरिँदै आएको छ ।

वीरता जेसीजद्वारा गठित तीन सदस्यीय निर्णायक समितिले चन्द्रगढी विमानस्थलका प्रबन्धक चुँडाललाई राष्ट्रसेवा विधामा ‘उत्कृष्ट नागरिक’ सम्मान दिने निर्णय गरेको हो । झापाको सर्वोत्कृष्ट मानिएको उक्त सम्मान वैशाख ५ गते विर्तामोडमा विशेष समारोहबीच प्रदान गरिने निर्णयक समितिका सदस्य मोहन काजीले बताए । सम्मान प्राप्त गर्न लागेका ४६ वर्षीय चुँडाल झापाको कनकाई–९ घैलाडुब्बा निवासी हुन् । विगत २३ वर्षदेखि सरकारी सेवामा रहेका उनी हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका नवौँ तहका कर्मचारी हुन् ।

निर्णायक समितिमा विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं ब्रोडकास्टिङ एशोसिएसन अफ नेपालका पूर्वउपाध्यक्ष कुमार भट्टराई संयोजक, सदस्यमा पत्रकार मोहन काजी र शिक्षासेवी मोहन शिवाकोटी रहेका छन् । सम्मान प्रदान गर्नका लागि वीरता जेसीजका पूर्वअध्यक्ष राजेन्द्र चम्लागाईं संयोजक र निवर्तमान अध्यक्ष एकराज गिरी सचिव रहेको उत्कृष्ट नागरिक सम्मान समारोह–२०७५ गठन गरिएको छ ।

उनी एक वर्षअघि चन्द्रगढी विमानस्थलमा प्रमुख भई आएपछि विमानस्थलको भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हुनुका साथै रात्रि उडान सेवासमेत सञ्चालन हुन थालेको छ । विमानस्थलमा चुँडालको नेतृत्वमा भइरहेको सुधारले झापाको चिनारी अन्तर्राष्ट्रियस्तरमा बढिरहेको र मुलुकले प्राथमिकतामा राखेको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको निर्णायक समितिको ठहर छ ।

आयोजकले सम्मानित प्रतिभालाई स्वर्ण पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नेछ । यसअघि विभिन्न विधामा २१ प्रतिभाले ‘उत्कृष्ट नागरिक सम्मान’ प्राप्त गरिसकेका छन् ।