बाग्मती

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण शुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ ।

कामपाको वडा नं १५ बाट मेयर निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुटको व्यवस्था गरी शुरु गरेको जानकारी दिइएको छ । पहिलो चरणमा १५ वडामा रहेका करीब एक हजार ६०० सामाजिक सुरक्षाभत्ता लिने ज्येष्ठ नागरिकलाई यस सेवा प्रदान गर्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।

उनका अनुसार अहिले परीक्षणको रूपमा यस वडामा शुरु गरिएको हो । बजेट, जनशक्ति र अन्य व्यवस्थापन सहज भएपछि अन्य वडामा पनि यो कार्यक्रम सञ्चालन गरिनेछ । कामपामा हाल ३२ वडा रहेको छ । कामपामा रहेका ज्येष्ठ नागरिकलाई जीवनको पछिल्लो समय हुने विभिन्न रोगको सिकारबाट समस्या नभई सहज होस् भन्ने हेतुका साथ यस कार्यक्रम सञ्चालन गरिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।

यो कार्यक्रम हरेक दिन सामुदायिक स्वास्थ्य सेवा परिषद्मा सञ्चालन हुनेछ ।