अन्तर्राष्ट्रिय

गृहमन्त्री राजनाथ सिंहद्वारा उम्मेदवारी दर्ता

लखनउ । आफ्ना समर्थकहरूको ठूलो भिडसहित भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले मङ्गलबार उम्मेदवारी दर्ता गराएका छन् । उत्तर प्रदेशअन्तर्गत पर्ने लखनउ निर्वाचन क्षेत्रबाट उनले लोकसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउनु अघि उनले हनुमान सेतु मन्दिरमा आफ्ना समर्थकहरूलाई सम्वोधन गरेका थिए । उम्मेदवारी दर्ता गराउने कार्यालयदेखि झण्डै ६ किलोमिटर टाढासम्म उनका समर्थकहरूको र्‍याली रहेको थियो ।

लखनउबाट ६७ वर्षीय नेता सिंहले अहिले दोस्रो पटक उम्मेदवारी दिएका हुन् । उनले यसअघि सन् २०१४ मा प्रमुख प्रतिस्पर्धी काँग्रेसका उम्मेदवारभन्दा सबैभन्दा धेरै फरक मतान्तरले जित हासिल गरेका थिए । भारतीय जनता पार्टी (भाजपा)का नेता सिंहसँग त्यतिबेला काँग्रेसका रिता बहुगुना जोशीले प्रतिस्पर्धा गरेकी थिईन् । उनी अहिले सिंहकै पार्टी भाजपामा छन् भने प्रदेश सरकारको मन्त्री पनि हुन ।

लगनउ निर्वाचन क्षेत्रलाई भारतीय जनता पार्टी (भाजपा)को प्रतिष्ठाको निर्वाचन क्षेत्रका रूपमा पनि हेरिन्छ । यो निर्वाचन क्षेत्रबाट एक पटक पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीले पनि उम्मेदवारी दिएका थिए । भारतमा यही अप्रिल ११ देखि शुरु भएको लोकसभा निर्वाचन आउँदो मे १९ तारिखसम्म चल्ने भएको छ । निर्वाचन सात चरणमा हुन लागेको हो ।