गण्डकी प्रदेश

मन्दिर पुनःनिर्माणका लागि एक करोड सङ्कलन

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँ इनारपानीस्थित परमेश्वर राम मन्दिरको पुनःनिर्माणका लागि रु एक करोड १० लाख सङ्कलन भएको छ ।

मन्दिर पुनःनिर्माणका लागि चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञमा रु एक करोड १० लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिले जनाएको छ । ब्रम्हालीन श्री एक हजार आठ स्वामी परमानन्द सरस्वतीको जन्मथलो परमेश्वर राम मन्दिर इनारपानी पौवाडाँडामा विसं २०७२ को विनाशकारी भूकम्पले ठूलो क्षति पुर्‍याएको थियो ।

भूकम्पले भत्काएको मन्दिर पुनःनिर्माणका लागि आर्थिक अभाव भएका कारण महायज्ञको आयोजना गरिएको हो । भूकम्पका कारण राम मन्दिरको कुटी, वाचनालय, धर्मशाला लगायतका संरचना पूर्णरूपमा ध्वस्त पारेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष टीकाराम कँडेलले बताए ।मन्दिरको विकासका लागि धार्मिक व्यक्ति, सङ्घसंस्थाले स्वेच्छिकरूपमा पुनःनिर्माणका लागि सहयोग प्रदान गरेका हुन् ।

चैतेदशैँमा २७ लाख भेटी सङ्कलन

चैतेदशैँमा बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्न आउने भक्तजनले चढाएको भेटीबाट रु २७ लाख दुई हजार ५३ सङ्कलन भएको छ । दशैँको १० दिनसम्म मन्दिरमा पूजाआजा गर्ने भक्तजनले सो भेटी चढाएका हुन् ।

देशमै प्रसिद्ध यस शक्तिपिठमा यही चैत २३ गतेदेखि वैशाख २ गतेसम्म विशेष पूजा चलेको थियो । मन्दिर परिसरमा सञ्चालित चैत्राष्टमी मेलाका कारण पनि भक्तजनको वृद्धि भएको थियो । सबैभन्दा बढी अष्टमीका दिन रु छ लाख १६ हजार ६२० सङ्कलन भएको कालिका भगवती मन्दिर गुठी समितिका अध्यक्ष राजु खड्काले जानकारी दिएका छन् ।

भाकल गर्ने भक्तजनले बलि चढाएका बोका, राँगा, कुखुराको मुढ (टाउको) बिक्रीबाट प्राप्त हुने रकम पनि मूलभेटीमा चढ्ने गरेको अध्यक्ष खड्काले बताए । मनोकाङ्क्षा पूरा हुने विश्वासमा पूजाका लागि देशका विभिन्न भाग तथा छिमेकी मुलुक भारतबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् ।