पर्यटन/संस्कृति

धार्मिक पर्यटकीय क्षेत्रसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइयो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले सरकारले घोषणा गरेको नयाँ एक सय पर्यटकीय गन्तव्यको सूचीमा भम्केनीधामलाई पनि सूचीकृत गर्न अन्य धार्मिक पर्यटकीय क्षेत्रसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको छ ।

सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली विकास समितिले भम्केनीलाई भीमदत्त नगरपालिका वडा नं १, ३, ४, ५, ६, ७, ८, ९ र १० लाई धार्मिक क्षेत्रसँग जोड्नका छलफल अगाडि बढाएको छ । नगरपालिकाको उत्तरी क्षेत्रका सबै धार्मिक मठमन्दिर समितिका पदाधिकारी, पुजारी र जनप्रतिनिधिसँग कार्यक्रम गरी धार्मिक पर्यटकीय सर्किटका लागि बृहत् भेला गरी समिति गठन गर्ने निर्णय गरेको छ । नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यको अगुवाइमा स्थापना गरिएको भम्केनीधामलाई सरकारले केही महीनाअघि सय पर्यटन गन्तव्यमा सूचीकृत गरेको थियो ।

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रभित्रका सबै धार्मिक पर्यटकीय क्षेत्र एकापसमा जोडेर धार्मिक पर्यटन प्रवद्र्धनका लागि धार्मिक सर्किट बनाउन नगरपालिकाले कार्य अगाडि बढाउने बताए । रौटेलादेखि ब्रह्मदेवसम्मका धार्मिक पर्यटकीय क्षेत्र एकापसमा जोड्नका लागि नगरपालिकाले जैविक धार्मिकमार्ग निर्माण गरेको छ । यस कार्यले भम्केनीसहित अन्य क्षेत्रका धार्मिक पर्यटकीयस्थल जोडिएर पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको विश्वास छ ।

बाराकुण्डा, विष्णु मन्दिर धाम साकेतधाम, भम्केनीधाम, झिलमिला ताल र सिद्धनाथ मन्दिरलगायतका उत्तरी क्षेत्रका धार्मिक क्षेत्रको विकास र संरक्षणका लागि नगरपालिकाले पूर्वाधार निर्माणलगायतका कार्यलाई प्राथमिकता दिएको छ । भम्केनीधाममा निर्माण शुरु गरिएको नेपाल आमाको मूर्तिका लागि नगरप्रमुख विष्टले रु एक करोड सहयोग गर्ने घोषणा गरेका छन् । भम्केनीबाट ताराकोटसम्म पदमार्ग निर्माण, खानेपानी व्यवस्था र शौचालयलगायतका पूर्वाधार निर्माणमा नगरपालिकाले कार्य अगाडि बढाउने जनाएको छ ।