समाचार

परम्परागत शिक्षाभन्दा आधुनिक र प्राविधिक शिक्षा आवश्यक छः सभामुख महरा

लमही । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले स्वरोजगार सिर्जना गर्न प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । दाङको राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयको रजत जयन्तीको अवसरमा मङ्गलबार उनले अब परम्परागत शिक्षाभन्दा टिक्ने, बिक्ने र सिक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताए ।

“अब परम्परागत शिक्षाभन्दा पनि आधुनिक र प्राविधिक शिक्षा आवश्यक छ”, उनले भने, “त्यसैले हामीले अब प्राविधिक शिक्षालाई जोड दिनुपर्छ ।” उनले सरकारको एक वर्ष आधार वर्ष भएकाले अबका वर्षलाई विकास निर्माणको वर्षका रुपमा अघि बढ्ने बताए । सभामुख महराले अझै पनि सङ्घीयता नीतिगत रुपमा प्रष्ट भए पनि व्यावहारिक रुपमा प्रष्ट नरहेको भन्दै सङ्घीयतालाई सफल पार्न निकै चुनौती पार गर्नुपर्ने बताए । अहिले नयाँ संविधान कार्यान्वयनको चरणमा केही संक्रमण बाँकी रहेपनि छिट्टै समाधान हुने उनको भनाइ थियो ।

सांसद मेटमणि चौधरी, गङ्गा थारु, प्रदेशसभा सदस्य इन्द्रजित थारु, रेवतीरमण शर्मा, दामा शर्मा र सरस्वती गौतमले प्राविधिक शिक्षालयले धेरै गरीबका छोराछोरीलाई प्राविधिक शिक्षाको पहुँचमा पुर्‍याएको बताए ।