राजनीति

आउँदो निर्बाचनमा ७७ जिल्लामा काँचुली फेर्नेगरी काङ्ग्रेसले यसरी गर्दैछ देशब्यापी कार्यक्रम, गर्यो घोषणा

भीष्मराज ओझा/काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि देशभर ‘हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान शुरु गर्ने भएको छ । । यही वैशाख ११ गतेदेखि अभियान शुरु हुनेछ ।

काङ्ग्रेसले आज पत्रकार सम्मेलन गरी सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ साल भरी तीन चरणमा सम्पन्न हुने जनाइएको छ । पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचीत गर्ने, राष्ट्रव्यापी रुपमा पार्टीमा एकता कायम गर्दै पार्टी सुदृढीकरणका विविध गतिविधि गर्ने, काङ्ग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धी नागरिकमा पु¥याउने अभियानका उद्देश्य छन् ।

अभियानका पन्ध्र उद्देश्य

त्यस्तै सरकारका भ्रष्टाचारलगायत विसङ्गतिपूर्ण कृयाकलापबारे नागरिकमा प्रष्ट्याउने, तराई–मधेशलगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिको समाधान सूत्र विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो भन्ने तथ्यलाई प्रस्ट्याउँदै जनमत र वातावरण निर्माण गर्ने अभियानको लक्ष्य रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

अभियानले कुटनैतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, शेयर बजारप्रतिको नकरात्मक व्यवहार र उब्जिएको प्रतिकुल परिणाम, बौद्धिक समुदायप्रतिका अबौद्धिक टिप्पणी, चिकित्सा शिक्षा क्षेत्रमा बढेको बेथिति, प्रेस स्वतन्त्रतामाथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अनेक प्रयत्न आदिका विरुद्ध खबरदारी र काङ्ग्रेसको सदस्यता वितरण एवं विस्तार गर्दै पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ÷नगर टोलसम्म व्यापक ढङ्गले प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्नेलगायत १५ उद्देश्य राखेको उनले बताए ।

अभियान तीन चरणमा

अभियान प्रथम चरणमा यही वैशाखको लोकतन्त्र दिवसमा प्रारम्भ भई जेठ ११ मा समापन हुनेछ । दोस्रो चरण भदौ २४ गते बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ मा समापन हुने र तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन हुने कार्यतालिका रहेको प्रवक्ता शर्माले बताए ।

त्यस्तै प्रथम चरणमा ७७ जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि पुगेर एक महीना सोही क्षेत्रमा निर्धारित कार्यक्रम सम्पन्न गर्ने पार्टी कार्यालयले जनाएको छ । दोस्रो चरणमा ३३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पुग्ने र १५ दिन सम्बन्धित क्षेत्रमा निर्धारित कार्यक्रम गर्ने बताइएको छ । तेस्रो चरणमा ७५३ स्थानीय तहमा केन्द्रीय प्रतिनिधि पुगेर १० दिनसम्म निर्धारित कार्यक्रम गरिने जनाइएको छ ।

अभियानको समयावधिभर पार्टी केन्द्रीय समितिदेखि सबै तहको नेतृत्व र सदस्यको सम्पूर्ण रुपले सहभागिता र सक्रियता रहने छ । पार्टीका सम्पूर्ण भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समिति, काठमाडौँस्थित जिल्ला सम्पर्क समिति तथा शुभचिन्तक सबैलाई जागरण अभियानमा ऐक्यबद्ध ढङ्गले सहभागी र क्रियाशिल गराइने पार्टी जनाएको छ ।

अभियानको उद्घाटन ७७ स्थानमा एउटै समयमा गरिने छ । काठमाडौँ जिल्लामा केन्द्रीय सभापतिले कार्यक्रम उद्घाटन गर्नेछन्। अन्य ७६ जिल्लामा सोही समयमा पार्टी केन्द्रबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिले उद्घाटन गर्ने बताइएको छ ।

भ्रातृ सस्थाले दोश्रो दिन, शुभेच्छुक संस्थाले तेस्रो दिन र विदेशस्थित जनसम्पर्क समितिले अभियान प्रारम्भपछिको प्रथम या द्वितीय आइतबार अथवा शुक्रबार आफ्नो अनुकुलतामा र काठमाडौँस्थित जिल्ला सम्पर्क समितिले अभियान प्रारम्भपछिको पहिलो र दोस्रो शनिबारमध्ये अनुकूल छनौट गरी अभियान प्रारम्भ गर्ने प्रवक्ता शर्माले बताए ।

छरितो उद्घाटन र अग्रजलाई घरमै सम्मान

काङ्ग्रेसले असीमित सङ्ख्याको आसन ग्रहणको परम्परा यो अभियानसँगै अन्त्य गर्ने जनाएको छ । कार्यक्रममा सभापति, प्रमुख अतिथि अथवा प्रमुख वक्ताले सामुहिक आसन ग्रहण गर्नेछन् । उद्घाटनमा आसन ग्रहण, मौनधारण, राष्ट्रिय गान, माल्र्यापण, उद्घाटन, मन्तव्य, सदस्यता वितरण प्रारम्भ र बिर्सजन गरिनेछ ।

मन्तव्य पनि छरितो हुने जानकारी दिँदै प्रवक्ता शर्माले स्वागत मन्तव्य, विषय प्रवेश, प्रमुख अतिथि अथवा प्रमुख वक्ता र संक्षिप्त मन्तव्यसहित सभापतिबाट उद्घाटन समारोह बिसर्जन हुने उनले अवगत गराए । उद्घाटन समारोहको मुख्य व्यानर सबै ठाउँमा एकै ढाँचाको रहनेछ । मञ्चमा ब्याज वितरणको प्रचलन यो अभियानसँगै अन्त्य गरिने काङ्ग्रेसले जनाएको छ ।

छरितो भेलामार्फत अभियानको माथि उल्लेखित उद्देश्य र सन्देश सम्प्रेषण, सदस्यता वितरण व्यापक रुपले गर्ने, स्वदेश र विदेशका सबै तहमा वृहत्तर रुपले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, केन्द्रीय कार्यसमितिले यसअघि नै गरिसकेको परिपत्र बमोजिम ‘अभिलेख सङ्कलन’ कार्यक्रमलाई छरितो टोलीमार्फत तीव्रता दिने, संघर्षकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गर्ने पार्टीको योजना छ ।

अभियानअन्तर्गत पार्टीका पुराना अग्रजलाई घरमै पुगेर सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसी स्थिति बुझ्नुका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव लिने, संघर्षको अनेक कालखण्डमा जीवन गुमाएका शहीदहरुको घर परिवार भेट्न जाने कार्यक्रम छ ।

सञ्चारकर्मीको जिज्ञासामा पार्टी उपसभापति विमलेन्द्र निधिले अभियानले निराश जनतामा आशा जगाउने उल्लेख गर्दै पार्टीको नयाँ विधानअनुसार संक्रमणकालीन एकाइ गठन गर्न योगदान पुग्ने बताए । साथै उनले अभियानमार्फत काङ्ग्रेसले लोकतन्त्र र मुलुक समृद्धीका लागि गरेको योगदानका बारेमा जनतामा जानकारी गराउने र सरकारका गलत क्रियाकलापका विरुद्ध जनतालाई जागरुक बनाउने बताए ।

सञ्चारकर्मीकै जिज्ञासामा महामन्त्री डा शशाङ्क कोइरालाले अभियानले पार्टीमा एकता कायम भई पार्टी थप मजबुत हुने बताउँदै आफूले हिन्दू राष्ट्रका पक्षमा नभई धार्मिक स्वतन्त्रताका पक्षमा अभिव्यक्ति दिएको प्रष्ट पारे। कार्यक्रममा उपसभापतिद्वय निधि र विजयकुमार गच्छदार, महामन्त्री डा कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, कोषाध्यक्ष सितादेवी यादव, राष्ट्रियससभामा काङ्ग्रेसका नेता सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ उपस्थित थिए ।